माल्दिभ्स, श्रीलंका र बंगलादेशको मुद्रा सटही सुविधा थप्दै राष्ट्र बैंक, थाल्यो अध्ययन

माल्दिभ्स, श्रीलंका र बंगलादेशको मुद्रा सटही सुविधा थप्दै राष्ट्र बैंक, थाल्यो अध्ययन


काठमाडौं – आर्थिक कारोबार बढ्न थालेपछि विदेशी मुद्रा सटही गर्न मिल्ने देशको सूची थप्ने गृहकार्यमा नेपाल राष्ट्र बैंक लागेको छ । विभिन्न देशमा हुने आर्थिक कारोबार र त्यसको लाभहानिलाई हिसाब गर्दै सटही सुविधा दिँदै आएको राष्ट्र बैंकले २२ देशबाट २५ देशको मुद्रा सटही सुविधा दिने गरी गृहकार्य थालेको हो ।

राष्ट्र बैंकले अहिले सटही सुविधा नभएका तर ती देशबाट विभिन्न माध्यमबाट नेपाल भित्रिने सम्बन्धित देशको मुद्रा खेर जान नदिने लक्ष्यसहित सटही सुविधा बढाउने गृहकार्य अघि बढाएको छ । हाल राष्ट्र बैंकले २२ वटा देशको विदेशी मुद्रा सटही सुविधा प्रदान गर्दै आएको छ ।

केन्द्रीय बैंकले विभिन्न कामको सिलसिलामा विभिन्न देशहरू गएका नेपाली नागरिक वा विभिन्न देशका नागरिक नेपालमा आउँदा सहजै नोट सटहीको सुविधा दिई पैसाको सदुपयोग गर्नका लागि विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई परिपत्र नै जारी गरेर काम गर्दै आएको छ ।

यी हुन् विदेशी मुद्रा सटहीमा थपिन लागेका देश

राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालका अनुसार राष्ट्र बैंकमा तिन देशको विदेशी मुद्रा सटही सुविधा बढाउने भन्ने विषयमा छलफल चलेको हो । उनले हाल छलफल मात्रै चलेको तर निर्णय नभइसकेको बताएका छन् । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा प्रदान गरेर देशको विदेशी मुद्रा सञ्चितिको व्यवस्थापन र शोधनान्तर सन्तुलन कायम गर्ने गर्छ ।

विदेशी मुद्रा सटहीमा सहज हुँदा आयात/निर्यात, विदेशी ऋण भुक्तानी र अन्य अन्तर्राष्ट्रिय कारोबारमा समेत सहज हुन्छ । जसमध्ये मालदिभ्स, श्रीलंका र बंगलादेश रहेका छन् । नेपालले दुई दशक यता बंगलादेशसँग व्यापारिक सम्बन्ध गाँसेर आयात निर्यात गर्ने गरेको छ । नेपालले बंगलादेशसँग व्यापार बढाउँदै लैजाँदा राष्ट्र बैंकले पनि मुद्रा सटही सुविधा प्रदान गर्ने भएको हो ।

बंगलादेशबाट नेपालले चालु आर्थिक वर्षको आठ महिनामा नै दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरका मालसामान आयात गरेको छ । यहीकारण, बंगलादेशबाट नेपाल भित्रिने बंगलादेशी टाकाको सटही गर्ने रणनीति अघि बढेको हो। दुई देशबीच व्यापारिक सम्बन्ध रहँदा उताबाट नेपालमा कसैगरी रकम भित्रिएमा खेर जाने गरेको छ ।

यस्तै, राष्ट्र बैंकले माल्दिभ्सकाे मुद्रालाई पनि सटही सुविधा दिने तयारी गर्दैछ । नेपालबाट पछिल्लो समय अधिकांश डाक्टरहरु माल्दिभ्स जान थालेका छन् । उनीहरुले त्यहाँबाट ल्याएको मुद्राको सही सदुपयोग गर्नका लागि केन्द्रीय बैंकले सटहीको व्यवस्था गराउन लागेको हो । माल्दिभ्सले नेपाली डाक्टरहरुलाई काम गर्नका लागि राम्रो अवसर प्रदान गरेको छ ।

माल्दिभ्समा जनशक्ति कम हुँदा नेपाली स्वास्थ्यकर्मी त्यसतर्फ केन्द्रीत भइरहेका छन्। जसकाकारण अधिकांश नेपाली डाक्टरहरु त्यहाँ गएर काम गरेको पाइन्छ । त्यसक्रममा उनीहरूसँग मालदिभ्सको रुफिया समेत नेपाल आउने गरेको छ । तर, त्यसरी आएको रकम सटही सुविधा नहुँदा खेर जाने गरेको छ ।

त्यसैगरी, राष्ट्र बैंकले श्रीलंकाको मुद्राको पनि सटहीको व्यवस्था गर्ने गरी छलफल अघि सारेको छ । श्रीलंकाबाट नेपाल घुम्न अत्याधिक बौद्धधर्मालम्बी पर्यटक आउने भएकाले उनीहरुले सहजै मुद्रा सटहीको सुविधा दिने लक्ष्य राष्ट्र बैंकले राखेको छ । उनीहरू नेपाल घुम्न आउँदा श्रीलंकन रुपी समेत ल्याउँछन् । तर, नेपालमा सटही सुविधा नहुँदा त्यस्तो रकम साट्ने प्रावधान छैन ।

यसबाहेक, लुम्बिनी लगायत बौद्धधर्मालम्बीको आस्थाको केन्द्रमा उनीहरुले आफ्नै देशको मुद्रा भेटीकारुपमा चढाउँछन् । जुन, रकमको सटही सुविधा नहुँदा खेर गइरहेको छ । यस्तै, उनीहरुले ल्याउने स्वदेशी मुद्रा साट्ने प्रावधान नहुँदो श्रीलंकनले गर्ने खर्च समेत खुम्चिएको राष्ट्र बैंकको बुझाइ छ । श्रीलंकाबाट सन् २०२५ को तिन महिनासम्ममा मात्रै १३ हजार बढी पर्यटक नेपाल आएका छन् ।

नेपाल राष्ट्र बैंकले आफ्नो देशको आर्थिक कारोबारअनुसार विश्वका २२ वटा देशको मुद्रामा सटही सुविधा दिँदै आएको छ। भारु, चिनियाँ युआन, खाडी मुलुक, डलर, युरो, पाउण्ड, सिंगापुर र अष्ट्रेलियन, येन र हङकङ तथा मलेसिया लगायत देशको मुद्रामा सटही सुविधा छ । ती देशसँग श्रम, व्यापार, पर्यटन लगायतको आर्थिक सम्बन्ध गाँसिएको छ ।

कुन देशमा चल्छ नेपाली पैसा ? 

नेपालको रुपैयाँ समेत विभिन्न छिमेकी मुलुकहरूमा सहजै साट्न सकिन्छ । मलेसियाको केन्द्रीय बैंकले भने नेपालको मुद्रा सटहीको मूल्य नै तय गर्ने गरेको छ । त्यस्तै, कतार, दुवै र साउदी अरेबियाका मनी एक्सचेन्जरले पनि नेपाल रुपैयाँ साट्ने गर्दछन् । खासगरी, उनीहरुले नेपालबाट जाने श्रमीकसँग रहेको नेपाली रुपैयाँलाई साट्ने लक्ष्यसहित यस्तो सुविधा दिएका हुन् ।

ओमनको किन थपियो ?

केही समयअघि मात्रै नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा (ओमानी रियाल) सटही सुविधा प्रदान गर्ने निर्णय गरेको थियो । ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज गर्ने गरी राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री गर्न सुरु गरेको थियो । पछिल्लो चरण ठूलो संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि ओमन पुगेका छन् ।

उनीहरूले कमाएको ओमानी रियाल नेपालमा सटही गर्नका लागि राष्ट्र बैंकले सहजीकरण गरेको हो । राष्ट्र बैंकले मुद्रा सटहीको सुविधा प्रदान गरेर रेमिट्यान्सलाई औपचारिक बैंकिङ्ग प्रणालीमार्फत भित्र्याउन र ओमनबाट फर्किएका नेपालीले ल्याएका खुद्रा पैसा खेर जान नदिन यस्तो व्यवस्था गरेको हो ।