कुमारी, हिमालयन, एनआईसीको नाफा खुम्चिँदा ३ विकास बैंकले गरे ‘ओभरटेक’


काठमाडौं – चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ वटा वाणिज्य बैंकको नाफालाई ३ विकास बैंकले ‘ओभरटेक’ गरेका छन् । चालू आर्थिक वर्षको ९ महिनासम्मको अवधिको तुलनामा कुमारी, हिमालय र एनआईसी एशिया बैंक नाफा कमाउने मामिलामा ३ विकास बैंकबाट ‘ओभरटेक’ भएका हुन् । यी बैंकलाई गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकले नाफा आर्जनमा ‘ओभरटेक’ गरेको तथ्यांकले देखाउँछ । वाणिज्य बैंकहरुको नाफामा गिरावट आउन थालेसँगै विकास बैंकले नै धेरै नाफा कमाएका हुन् ।

समग्रमा हेर्दा बैंकहरुको नाफामा सुधार आए पनि केही बैंकको नाफा घटेको छ । तथ्यांकअनुसार ११ वटा बैंकको नाफा बढ्दा ९ वटाको घटेको छ । यसमध्ये ३ वटा वाणिज्य बैंकले भने समान ३ वटै विकास बैंककोभन्दा न्यून नाफा कमाएका छन् । चैत मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको यही अवधिको तुलनामा १.४ प्रतिशत नाफा वृद्धि हो । गत आवको सो अवधिमा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख बढी नाफा कमाएका थिए ।

यही अवधिमा राष्ट्रियस्तरका ८ वटा विकास बैंकको नाफा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ छ । वाणिज्य बैंकले आर्जन गरेको समग्र नाफालाई विकास बैंकले आर्जन गरेको नाफासँग तुलना गर्नै मिल्दैन । तर, यस अवधिमा कुमारीले यस अवधिमा २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ७२ प्रतिशतले खुम्चिएको हो । यस्तै, हिमालयन बैंकले ५० करोड नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ७४ प्रतिशतले न्यून हो । यसैगरी, एनआईसी एशियाले ९ महिनाको अवधिमा १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्ष २०८० को यही अवधिको तुलनामा ९१.८१ प्रतिशतले कम हो ।

यता राष्ट्रियस्तरको विकास बैंकहरुमा गरिमाले सबैभन्दा धेरै नाफा कमाएको छ । यो बैंकले ९ महिनाको अवधिमा ७३ अर्ब ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, यस अवधिमा मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ भने शाइन रेसुङ्गाले ९ महिनामा ५१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । यी तीन वटै विकास बैंकले माथि उल्लेखित वाणिज्य बैंकलाई नाफा आर्जनको मामिलामा ९ महिनाको अवधिमा ‘ओभरटेक’ गरेका हुन् ।

बैंकिङ्ग विज्ञ अनलराज भट्टराई बैंकको प्रोभिजनिङ्गका कारण नाफा प्रभावित बनेको बताउँछन् । ‘एक दुई वटा बैंकले बढी प्रोभिजनिङ्ग गर्नुपर्दा नाफा कम हुन पुगेको हो । तर, कुनै विकास बैंकको सामान्य नाफा हुँदा बढी देखिने हुन्छ’ उनी भन्छन्, ‘विकास बैंकको पनि बिजनेस ठुलो भइसकेको छ,’ उनले वाणिज्य बैंकहरुलाई पुराना कर्जा ‘रिकभरी’ मा दवावका कारण नाफा गुमाउनु परेको बताए ।

एनआईसी एशियालाई ६ विकास बैंकले उछिने

यो त्रैमासमा सबैभन्दा धेरै नाफा घट्ने बैंकमा एनआइसी एशिया रहेको छ । बैंकलाई यो अवधिमा ६ वटा विकास बैंकले नाफामा टपेका छन् । एनआईसीको नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा कायम भएको हो । जुन, राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंकको भन्दा पनि कम हो । गरिमाले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

एनआईसीलाई मुक्तिनाथ विकास बैंकले पनि नाफामा उछिनेको छ । मुक्तिनाथले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, एनआईसी एशियालाई कामना सेवा विकास बैंकले र महालक्ष्मी विकास बैंकले पनि नाफामा उछिनेका छन् । यी बैंकले क्रमश : ४९ करोड ३१ लाख र ४३ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, एनआईसी एशियालाई ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको पनि उछिनेका छन् । यी बैंकहरुले अत्यधिक नाफा बढाउँदा एनआईसी एशियालाई नै उछिन्न सफल भएका हुन् । यी दुई विकास बैंकले नाफा बढाएर क्रमशः ३० करोड ६६ लाख रुपैयाँ र ४३ करोड ४२ लाख रुपैयाँ पुर्याएका छन् ।

यता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो नाफा घटाउँदा पनि एनआईसी एशियालाई टपेको छ । जसले पनि उछिन्दा एनआईसीलाई चुनौती थपिएको छ । बैंकले एनआईसी एशियाको तुलनामा अत्यधिक नाफा कमाएको हो । बैंकले ५१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

एनआईसी एशिया बैंकले त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै बढ्दो निष्क्रिय कर्जा, बढ्दो सञ्चालन लागत र गैह्रबैंकिङ्ग सम्पत्तिको बिक्रीमा ढिलाइ हुँदा केही समस्या सिर्जना भएको बताएको छ । पछिल्लो चरण राष्ट्रियस्तरको विकास बैंकहरुको पुँजीकोष पनि बढ्दै गएको छ । बैंकको पुँजीकोषमा सँगै नाफामा पनि सुधार आउँदा वाणिज्य बैंकहरुलाई नै नाफामा पछि पारेको कतिपय बैंकिङ्ग विज्ञहरु बताउँछन् ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव उपाध्याय विकास बैंकहरुले सीडी रेसियो कायम गर्दा नाफामा सुधार देखिएको बताउँछन् । ‘हाम्रो सीडी रेसियो कायम गरेका छौं । अहिले नै पनि सीडी रेसियो ८५/८६ हाराहारीमा छ’ उनले बैंकिङ्ग समाचारसँग भने ।