जाँदाजाँदै गभर्नर अधिकारी : १९२ पृष्ठ लामो उपलिब्धको प्रतिवेदनमा लेखेनन् समस्यामा परेको कर्णाली विकास बैंकको संकट

जाँदाजाँदै गभर्नर अधिकारी : १९२ पृष्ठ लामो उपलिब्धको प्रतिवेदनमा लेखेनन् समस्यामा परेको कर्णाली विकास बैंकको संकट


काठमाडौं – २०७६ सालमा १७औं गभर्नरकारुपमा नेपाल राष्ट्र बैंक छिरेका महाप्रसाद अधिकारीले कार्यकालको अन्त्यमा ५ वर्षे उउपलब्धि सार्वजनिक गरेका छन् । गभर्नर अधिकारीले १९२ पृष्ठ लामो उपलब्धि सार्वजनिक गर्नेक्रममा आफ्नो कार्यकालमा भएको थुप्रै उपलिब्ध उल्लेख गरेका छन् । तर, यस अवधिमा आएका समस्या र चूनौती भने उनको उपलब्धिको रिपोर्टमा अटेन ।

५ वर्षे कार्यकालको अवधिमा कोरोना महामारीका कारण गभर्नर अधिकारीले थुप्रै चूनौती ब्यहोरे । समस्यापूर्ण अवस्थमा नेपालको अर्थतन्त्रलाई डुब्न नदिने समय–समयमा खुकुला र कडा नीति लिनुपर्यो । अत्याधिक आयात बढेर एकै वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले आयात प्रतिबन्ध गरेको थियो ।

आयात निरुत्साहित गर्नेगरी लिइएको कडा नीतिगत व्यवस्थाका कारण राज्यको मूख्य आम्दानीको स्रोतकारुपमा रहेको राजश्व घटेको थियो । जसकारण, सरकार अहिले पनि चापमा छ । यसबाहेक, आफ्नो कार्यकालमा लिइएको कडा र अस्थिर नीतिका कारण गभर्नर अधिकारीले सडक आन्दोलनको दबाब समेत खेप्नुपरेको थियो भने अर्थमन्त्रीसँगको भिडन्तका कारण ७ दिन निलम्बनमा समेत परे ।

२०७६ सालमा विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीबाट अर्थतन्त्र लयमा ल्याउन सुरुमा लिइएको लचिलो नीतिको प्रभाव यतिबेलासम्म छ । बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार पुर्नकर्जा र कर्जा पुर्नतालिकिकरण गर्दा दिइएको विना धितो ऋणको प्रतिफल देखिइरहेको छ ।

वाणिज्य बैंकहरुको खराब कर्जा बढेर १० प्रतिशतभन्दा माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृतहरु नै बताउँछन् । यस्तै, गैह्र बैंकिङ्ग सम्पत्ती बढेर ३८ अर्ब पुगेको छ । यो समस्या भविष्यमा बैंकहरुका लागि ठूलो चूनौती बनेर आउने अवस्था छ ।

यस्तै, कर्णाली विकास बैंक गभर्नर अधिकारीकै कार्यकालमा समस्याग्रस्त बन्यो । यतिबेला राष्ट्र बैंकबाट खटिएका ३ जना कर्मचारीलाई बैंकको दायित्व र सम्पत्तीको हिसाबकिताब मिलाउनै मुस्किल परिरहेको छ । बैंकको अर्बौं रुपैयाँ अपलन भएको तथा दायित्व साढे ४ अर्ब रुपैयाँको तुलनामा सम्पत्ती ३ अर्ब ८० करोड रुपैयाँ हाराहारी देखिएको छ ।

यसले फिल्डमा खटिएका कर्मचारीको टाउको दुखिरहेको छ । तर, गभर्नर अधिकारीले आफ्नो कार्यकालमा कर्णाली विकास बैंकको समस्या र संकटबारे एउटा शब्द पनि खर्चेनन् । जबकी, १९२ पृष्ठ लामो उपलब्धिको प्रतिवेदनमा ३७ ठाउँमा विकास बैंक उल्लेख गरेका छन् ।