काठमाडौं – नेपालबाट भारत र भुटान जाने नेपालीले वाणिज्यस्तरका बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत क्यूआरबाटै भुक्तानी गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरेको एकीकृत परिपत्रमार्फत नेपालबाट बैंकबाट भारत र भुटानमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो ।
हालसम्म भारतीय सेवाग्राहीले फोनपेको प्रयोगमार्फत नेपालमा भुक्तानी गर्न सक्थे । नेपालीले भारतीय बजारमा पुगेर क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था थिएन । तर, राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै नेपालका वाणिज्य बैंक र राष्ट्रियस्तरका वाणिज्य बैंकको खाताबाट भारत र भुटानमा क्यूआर गर्न मिल्ने व्यवस्था लागू गरेको हो ।
‘यस परिपत्रमा उल्लिखित भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक)मार्फत भारत र भुटानमा भुक्तानी हुने गरी समेत उपलब्ध गराउन सकिनेछ,’ राष्ट्र बैंकको एकीकृत परिपत्रमा लेखिएको छ ।
‘यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीच (आरपीएस) को माध्यमबाट प्रदान गर्नु पर्नेछ,’ राष्ट्र बैंकले थप खुलाएको छ ।

प्रतिक्रिया