काठमाडौं – अमेरिकाले नेपाललाई १० प्रतिशत भन्सारकर लगाएपछि नेपालको १७ अर्ब रुपैयाँभन्दा बढीको निर्यात प्रभावित बन्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विहीबार विश्वव्यापी ‘ट्यारिफ’ घोषणा गर्दै नेपाललाई पनि १० प्रतिशत कर घोषणा गरेका थिए ।
यसबाट नेपालको वार्षिक साढे १७ अर्ब रुपैयाँभन्दा बढीको निर्यात प्रभावित बन्ने भएको हो । ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित बनेपछि उनले विश्वविरुद्ध व्यापार युद्ध छेडेका छन् । यो युद्धको प्रभाव नेपाललाई समेत परेको हो ।
ट्रमपले लेसोथोमाथि सबैभन्दा धेरै ५० प्रतिशत र सेन्टे पिरेरे र मिकेल्अनविरुद्ध समान ५० प्रतिशत ‘ट्यारिफ’ लगाएका छन् । यसपछि कम्बोडियाविरुद्ध ४९ प्रतिशत, लाओसविरुद्ध ४८ प्रतिशत, म्यानमारविरुद्ध ४७ प्रतिशत र भियतनामविरुद्ध ४६ प्रतिशत कर लगाएका छन् ।
अब यी देशबाट आयात हुने वस्तुले अमेरिकामा सोअनुसारको कर बुझाउनुपर्छ । यस्तै, उत्तर छिमेकी चीनविरुद्ध ३२ प्रतिशत र भारतविरुद्ध २७ प्रतिशत करको घोषणा ट्रमपले गरेका छन् । यसबाट यी दुई छिमेकी मुलुकको निर्यात व्यापार प्रभावित बन्नेछ ।
यी मुलुकको तुलनामा ट्रमपले नेपालमाथि भने जम्मा १० प्रतिशत कर घोषणा गरेका छन् । यसबाट वार्षिक १७ अर्ब रुपैयाँभन्दा बढीको व्यापार प्रभावित बन्ने भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष नेपालबाट अमेरिकामा १७ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको निर्यात भएको थियो ।
तर, तथ्यांकअनुसार गत वर्ष नेपालमा अमेरिकाबाट १९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको आयात भएको थियो । यसअनुसार नेपालले गत वर्ष २ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा ब्यहोरेको थियो । नेपालबाट अमेरिकामा लत्ताकपडा, छुर्पि लगायतका वस्तु निर्यात हुँदै आइरहेको छ ।
ट्रम्पको करपछि यी वस्तुको उत्पादन गर्दै आइरहेका उद्योग मूख्यरुपमा प्रभावित बन्नेछन् ।
प्रतिक्रिया