तोडफोड र आगजनीमा उत्रिए राजावादी, आन्दोलनका नाममा अर्थतन्त्रमा अर्बौंको क्षति

तोडफोड र आगजनीमा उत्रिए राजावादी, आन्दोलनका नाममा अर्थतन्त्रमा अर्बौंको क्षति


काठमाडौं – राजतन्त्र फर्काउने लक्ष्यसहित दुगाई प्रसाईँको नेतृत्वमा आन्दोलनमा उत्रिएका राजावादीहरू सार्वजनिक र निजी सम्पत्ति तोडफोडमा उत्रिएका छन् । जनआन्दोलनको बलमा फालिएको राजतन्त्र पुन स्थापनाको लक्ष्यसहित तीनकुने क्षेत्रमा आन्दोलनमा जुटेका राजावादीले सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गरेका हुन् ।

प्रसाईँ नेतृत्वको आन्दोलनकारी समूहले सुरुमा प्रहरीको सुरक्षा घेरा तोडेर बानेश्वनतर्फ आउने प्रयास गरेका थिए । सुरक्षाका लागि खटिएको प्रहरीलाई उत्तेजित बनाउने लक्ष्यसहित आन्दोलनका कमाण्डरको भूमिकामा रहेको प्रसाईँले निजी गाडीले प्रहरीको घेरा तोडेका थिए ।

त्यसपछि उत्तेजित बनेका आन्दोलनकारीले सुरुमा तीनकुने क्षेत्रका निजी घरमा आक्रमण गरेका थिए । प्रहरी प्रशासनले आन्दोलनका लागि राजावादी पक्षधरलाई तोकेको तीनकुने क्षेत्रका सटरहरू र आसपासका अधिकांश घरमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

ढुङ्गा र इट्टाले हानेर सबैजसो घर तोडफोड गरेका उनीहरूले तीनकुनेमा नै रहेको प्रभु कम्प्लेक्स लगायत भवनमा क्षति पुर्‍याए । यस्तै, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कको भवनमा समेत तोडफोड गरेको भिडियो सार्वजनिक भएका छन् भने यामाहाको सर्भिस सेन्टरमा समेत आन्दोलनकारीले आक्रमण गरेका छन् ।

यसबाहेक, तीनकुने कै भवनमा ढुंगामुढा गरेर क्षति पुर्याएपछि आगजनी गरेर र सो आगो निभाउन हिँडेको दमकललाई समेत तोडफोड गरेका छन् । आन्दोलनका क्रममा उच्छृङ्खल बनेका राजापक्षधर आन्दोलनकारी यतिमा रोकिएनन् ।

निजी सम्पत्तिमा क्षति पुयाउँदै बानेश्वरतर्फ अघि बढेका उनीहरूले एकीकृत समाजवादीको पार्टी कार्यलयमा समेत ढुंगामुढा गरेका छन् भने पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको कार्यलयमा समेत आक्रमण प्रयास गरेका छन् । यसबाहेक पेरिसडाँडामा नै गुडिरहेको निजी सवारीमाथि आगजनी गरेका छन् भने दुई पाङ्ग्रे सवारी साधनमा समेत तोडफोड गरेका छन्।

यसबाहेक उनीहरूले आज आन्दोलनको क्रममा गरेको तोडफोडबाट भएको सार्वजनिक र निजी सम्पत्तिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा एक प्रहरीसहित आधा दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएको बताइएको छ ।

यसबाहेक, आज काठमाडौंको मूख्य सडक नै कब्जा गरेर राजावादी र गणतन्त्रवादीहरुले आन्दोलन तथा सभा गर्दा अर्थतन्त्रलाई अर्बौको भार परेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांकअनुसार देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) ५७ खर्ब रुपैयाँभन्दा माथि छ ।

यो आकारको अर्थतन्त्रमा एक दिन आन्दोलन वा बन्द गर्दा कम्तीमा ३ अर्बदेखि ४ अर्ब रुपैयाँको क्षति पुग्ने आँकलन छ । यसबाहेक, आन्दोलनकारीले कोटेश्वरको भाटभटेनीमा समेत आक्रमण गरेका छन् । साथै सो क्षेत्रका विभिन्न घरहरुमा आक्रमणको घटना बढिरहेको छ । यी सबै तोडफोड र आगजनी तथा सार्वजनिक यातायातको आवागमनको हिसाबकिताब जोड्दा राष्ट्रिय अर्थतन्त्रमा अर्बौ रकमको क्षति पुगेको छ ।