कस्तो गभर्नर चाहन्छन् पुँजी बजारका लगानीकर्ता ?

कस्तो गभर्नर चाहन्छन् पुँजी बजारका लगानीकर्ता ?

पवित्रा ढुंगाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यही चैत २४ गतेबाट कार्यकाल सकिँदैछ । २०७६ सालमा राष्ट्र बैंक प्रवेश गरेका अधिकारीको ५ वर्षे कार्यकाल सकिन लागेको हो । उनी १७औं गभर्नरका रुपामा राष्ट्र बैंक प्रवेश गरेका थिए । विश्वभर कोभिड–१९ ले स्वरूप लिएको बेला राष्ट्र बैंक छिरेका अधिकारीले पुँजी बजार लगानीकर्ताहरूका लागि सहज नीति नलिइदिएको कतिपयको आरोप अझ पनि कायमै छ ।

कोभिडका कारण अर्थतन्त्र पुरै प्रभावित भएको थियो । कोभिडको समयमा गभर्नर अधिकारीले ल्याएको लचिलो मौद्रिक नीतिका कारण उद्योग व्यवसायीहरू खुसी थिए । यता नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीसँग पुँजी बजारका लगानीकर्ता भने झनै रुष्ट छन् । यतिबेला पनि शेयर बजारमा मिश्रित प्रतिक्रिया देखिन्छ । गभर्नर नियुक्तिको समय नजिकिँदै गर्दा लगानीकर्ताहरूमा अन्यौलता कायमै देखिन्छ । किनकि, पछिल्लो कारोबारको तथ्यांक र शेयर बजारको घटबढ हेर्दा लगानीकर्तामा भावी गभर्नरको नीतिमा अन्यौलता पाइन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार पछिल्लो २० कारोबार दिनमा शेयर बजार परिसूचक १४ दिन घटेको छ । यससँगै, नेप्से परिसूचक २६ सय ६३ अंकको बिन्दुमा आइपुगेको छ । पछिल्लो दुई कारोबार दिन बढेको तथ्य बिर्सिँदा शेयर बजार परिसूचक निरन्तर घट्दो अवस्थामा थियो । घटेर २५ सय अंकको बिन्दु तर्फसम्म आइपुगेको थियो ।

गभर्नर अधिकारीले पुँजी बजारका लगानीकर्ताको मागअनुसार आफ्नो कार्यकालमा कुनै पनि काम नगरेको लगानीकर्ताहरूको गुनासो छ । गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत शेयर बजारमा ४/१२ को क्याप लगाएका थिए । यो व्यवस्थाले लगानीकर्ताले जबरजस्ती आफ्नो लगानी खुम्च्याउनुपर्ने बाध्यता आएको थियो । त्यसपछि, बिस्तारै यो नीति राष्ट्र बैंकले खुम्च्याउँदै लागे पनि लगानीकर्ता रुष्ट बनेका थिए । राष्ट्र बैंकले लिने नीतिकाकारणले सबैभन्दा छिटो प्रभावित बन्ने क्षेत्र शेयर बजार हो ।

केन्द्रीय बैंकको प्रत्येक नीतिगत व्यवस्थाको प्रभाव यो क्षेत्रमा पर्छ । यहीकारण, लगानीकर्ताहरू भावी गभर्नरको पखाइमा छन् । लगानीकर्ताहरुमात्रै नभएर व्यापार व्यवसाय सञ्चालन गर्नेहरू पनि नयाँ गभर्नरको पखाइमा छन् । नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डे पुँजी बजारलाई राम्रोसँग बुझेको गभर्नर आउनुपर्ने बताउँछन् । ‘अब आउने गभर्नर अर्थतन्त्रलाई चलायमान बनाउने राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा रहेर देश विकासका लागी चिन्तन गर्ने खालको हुनुपर्छ’ पाण्डेले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने, ‘पुँजी बजारलाई राम्रोसँग बुझेको गभर्नर आउनुपर्छ ।’

पुर्व गभर्नरको कार्यकाललाई सम्झँदै पाण्डे भन्छन्, ‘बोली एकतिर काम अर्को तिर भयो, उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सकेनन् । साथै, ग्रे लिस्टमा लानमा पनि उनको भूमिका एकदमै महत्त्वपूर्ण रह्यो । विशेष गरी कोभिडपछि उनले अर्थतन्त्रमा जति काम गर्नु पर्ने हो, त्यो उनले नगर्दा शेयर बजारका लगानीकर्ताहरूले पनि धेरै पिडा भोग्नु प¥यो ।’

यस्तै, शेयर लगानीकर्ता संघका कार्यवाहक संघका अध्यक्ष तारा प्रसाद फुल्लेल देशको समग्र अर्थतन्त्रलाई चलायमान र पारर्दशिता बनाउने गभर्नर शेयर बजारले चाहिरहेको बताउँछन् । साथै, नीति, नियम कानुनहरु बनाउन सक्ने र राष्ट्र बैंकलाई कसैको कब्जामा नराखेर समग्रमा देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने गरी काम गर्ने खालको गभर्नर आउनु पर्ने उनले बताए ।

साथै, बैंकिङ्ग क्षेत्रलाई राम्रोसँग बुझेको विज्ञ व्यक्ती यस क्षेत्रमा आजको आवश्यकता भएको उनको भनाई छ । पूर्व गभर्नरकाे कामलाई सम्झदै रुष्ट हुदै फुल्लेल यसो भन्छन्, ‘उहाँको कार्यकालमा नेपाल ग्रे लिस्टमा पर्न सफल भयो, यसको लागि उनको कार्यकाल सम्झन चाहान्न ।’ फुल्लेल गर्भनरको कार्यकालमा नेपालको अर्थतन्त्र तथा पुँजी क्षेत्रमा परेको नकारात्मक असर बारे चिन्ता समेत व्यक्त गरे ।