अबको गभर्नर

कस्तो गभर्नर चाहन्छन् न्यूरोडका व्यवसायी ?

कस्तो गभर्नर चाहन्छन् न्यूरोडका व्यवसायी ?


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यहि चैत २४ गतेबाट कार्यकाल सकिँदैछ । २०७६ सालमा राष्ट्र बैंक प्रवेश गरेका अधिकारीको ५ वर्षे कार्यकाल सकिन लागेको हो । उनी १७ औं गभर्नरका रुपामा राष्ट्र बैंक प्रवेश गरेका थिए ।

विश्वभर कोभिड–१९ ले स्वरुप लिएको बेला राष्ट्र बैंक छिरेका अधिकारीले व्यवसायीलाई सहज नीति नलिइदिएको कतिपयको आरोप अझपनि कायमै छ । कोभिडका कारण अर्थतन्त्र पुरै प्रभावित भएको थियो । कोभिडको समयमा गभर्नर अधिकारीले ल्याएको लचिलो मौद्रिक नीतिका कारण उद्योग व्यवसायीहरु खुशी थिए ।

यता कोभिडको केही समयपछि उनले लिएको कडा मौद्रिक नीतिका कारण भने उद्योगी–व्यवसायीहरु मारमा समेत परे । उनले लिएको नीतिका कारण शिथिल अर्थतन्त्रकाबिच व्यवसाय सञ्चालन गरेकाहरु बैंकहरुले ब्याजदर बढाउँदा समस्यामा परेका थिए । त्यो समयमा अधिकारीले व्यवसायीको ढाँड सेक्ने काम गरेको भन्दै चर्को आलोचना पनि भएको थियो ।

उनको कार्यकाल सकिएपछि अब १८औं गभर्नरकारुपमा को आउलान् भनेर सबैको चासो बढ्न थालेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नेहरु पनि नयाँ गभर्नरको प्रतिक्षामा नै बसेका छन् । अर्थतन्त्र बुझेको गभर्नर आउँने र व्यवसायीमैत्री नीति लिने गभर्नरको प्रतिक्षामा उनीहरु छन् ।

यही विषयमा बैंकिङ्ग समाचारले न्यूरोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आइरहेका व्यवसायीसँग कुराकानी गरेको छ । न्यूरोडमा विगत लामो समयदेखि जुत्ताचप्पलको व्यवसाय गर्दै आएका युवा व्यवसायी पवन कटुवाल अहिलेको अर्थतन्त्र निकै दयनीय अवस्थामा रहेको बताउँछन् । उनले बैंकमा तरलता थुप्रिएर बसेको भन्दै नयाँ आउँने गभर्नरले अर्थतन्त्र चलायमान गर्नेगरी नीति लिने किसिमको गभर्नर राष्ट्र बैंकमा आउनुपर्ने बताए ।

यता अर्का व्यवसायी राजेश सिंह बैंकमा पैसा थुप्रिएर बसेको समयमा पनि बैंकहरुले ऋण लिन असहज भएको भन्दै लोनमा सहज नीति अबको गभर्नरले बनाउनुपर्ने बताउँछन् । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा आकाशिएको छ । बैंकहरुको बढ्दो खराब कर्जाले गैह्र बैंकिङ्ग सम्पत्तिमा पनि क्रमश वृद्धि हुँदै गएको छ । अबको गभर्नरको प्रमुख चुनौती यसमा देखिन्छ ।

प्रस्तुत छ भिडियो रिपोर्टः–