काठमाडौं- नेपाल राष्ट्र बैंकले इन्टरनेट तथा सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेतनाबाट सचेत रहन आग्रह गरेकाे छ । ग्लोबल मनी वीक २०२५ काे अवसरमा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ नाराका साथ सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेत रहन आग्रह गर्दै सन्देश जारी गरेकाे हाे ।
केन्द्रीय बैंकद्वारा जारी सन्देशमा उल्लेख छ,’ यदि कसैले ठूलो धनराशीको चिठ्ठा परेछ भन्ने सूचना, अप्रत्याशित पुरस्कार, वा संयुक्त लगानीको प्रस्ताव पठाउँछ भने, त्यस्ता प्रलोभनबाट बच्न आवश्यक छ।’ यस्ता सन्देशहरू प्रायः ठगी गर्ने उद्देश्यले बनाइएका जाल हुनसक्ने सम्भावना रहेको केन्द्रीय बैंकले जनाएकाे छ । राष्ट्र बैंकले सर्वसाधारणलाई यस्ता लोभलाग्दा अफरहरूप्रति सजग रहन र कुनै पनि आर्थिक प्रस्ताव स्वीकार गर्नु अघि सोच्न विचार गर्न केन्द्रीय बैंकले सुझाएको छ ।
चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाइने यो कार्यक्रम आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाइँदै आएको छ । विश्वव्यापी रूपमा वित्तीय चेतनामूलक अभियानका रूपमा स्थापित ग्लोबल मनी विक हालसम्म १७६ देशका छ करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ । नेपालमा पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो अभियानलाई सञ्चालन गर्दै आइरहेको छ। आज ग्लोबल मनी वीक २०२५ को अन्तिम दिन हो ।







About Us
प्रतिक्रिया