काठमाडौं – बैंकिङ्ग क्षेत्रमा रोजगारी गर्ने महिलाको संख्या बढ्दै गएपनि आवश्यक्ताअनुसारको नीतिगत व्यवस्थामा भने सरोकारवालाको ध्यान पुग्न सकेको छैन । दुई दशक अघिसम्म १० प्रतिशतभन्दा तल रहेको महिला बैंकरको संख्या यतिबेला बढेर ४० प्रतिशत वा योभन्दा बढीसम्म पुगिसक्यो । तर, उनीहरुको आवश्यक्ताअनुसारको व्यवस्था गर्नमा नीति निर्माता चुक्दा समस्या जिउँकातिउ रहेको हो ।
महिला बैंकरको संख्या बढ्दै जाँदा र उनीहरुको कामको प्रतिफलबाट बैंक व्यवस्थापन प्रभावित र सन्तुष्ट बन्दै गरेकाे देखिन्छ । तर, महिला केन्द्रीत नीतिगत व्यवस्थामा सरोकारवाला पक्षको ध्यान नपुग्दा बैंक तथा वित्तीय संस्थामा ‘शिशु हेरचाह र स्तनपान कक्ष’ छैन । जसकारण, आमा बैंकरलाई समस्या पुगेको केन्द्रीय बैंकको उच्चस्तरीय तह नै बताउँछ ।
यतिबेला केन्द्रीय बैंकमा नै २५ प्रतिशतभन्दा बढी महिला कर्मचारी छन् । डेपुटी गभर्नरदेखि विभिन्न महाशाखा र विभागको नेतृत्व महिला कर्मचारीले गर्दै आएका छन् । सरकारी बैंकहरुमा पनि विभिन्न महिलालाई आरक्षण दिई आवेदन खुला गर्दा महिलाको संख्या बढ्दै गएको छ । पछिल्लो चरण प्राइभेटमा त महिला कर्मचारी पुरुषसरह देखिन्छ । विगतमा फ्रन्टडेक्समा मात्रै देखिने महिलाहरु हाल नीति बनाउँनेदेखि व्यवस्थापनमा समेत देखिन थालेका छन् ।
बैंकिङ्ग क्षेत्रमा काम गर्ने कर्मचारीले घरपरिवारलाई भन्दा बढी समय बैंकलाई दिँदै आइरहेका छन् । तर, आमा बनेपछि स्तनपान र शिशु हेरचाह कक्ष नहुँदा समस्या हुने गरेको नेपाल पूर्वाधार बैंककी उपाध्यक्ष स्मृति शर्मा बताउँछिन् । उनका अनुसार बैंकले महिला कर्मचारीका लागि शिशु हेरचाह र स्तनापान कक्ष सुविधाको व्यवस्था मिलाउनुपर्छ । ‘एउटी आमालाई आफ्नो सन्तानलाई समयमा स्तनापान नगराउँदा धेरै समस्या सिर्जना हुन्छ, त्यसैले स्तनापान कक्ष निर्माणमा सम्बन्धित निकायको ध्यान जाओस्’ बैंकिङ्ग समाचारसँग उनले भनिन् ।
अधिकांश प्राइभेट बैंकहरुले महिलाहरू गर्भवती भएको भन्ने थाहा पाएपश्चात् कामबाट पनि हटाउने समेत गरेका छन् । कतिपयले भने आफैलाई असहज हुने सोचेर जागिर गर्ने इच्छा हुँदाहुँदै पनि छाड्नुपर्ने बाध्यता छ । यस्तै, बैंकको जागिर गर्दै गर्दा बच्चा जन्माएका र जागिरलाई निरन्तरता दिएकाहरूलाई भने कार्यालयमा शिशु हेरचाह र स्तनपान कक्ष नहुँदा समस्या सिर्जना भइरहेको छ ।
यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास
नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने महिलाका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । विदेशी लगानीकारुपमा सञ्चालनमा रहेको यो बैंकले अन्तर्राष्ट्रिय अभ्यास पछ्याउँदै शिशु हेरचाह र स्तनपान कक्ष सञ्चालन गरेको छ । नेपालमा स्ट्याण्डर्डले जस्तै विदेशी मुलुकमा अधिकांश बैंकहरुले बैंकमा काम गर्ने महिलाहरूलाई सहजता प्रदान गर्ने हिसाबले कार्यालयमा नै बाल हेरचाह र स्तनपान कक्षहरू सुरु गरेका छन् ।
अमेरिकाको यूएस बैंक, बैंक अफ अमेरिकाले महिला कर्मचारीलाई सहयोग गर्ने हेतुले बाल हेरचाह र स्तनपान कक्ष सुरु गर्दै आएको छ । त्यस्तै, संयुक्त अधिराज्य बेलायतको बार्कलेज बैंक, हङकङ र सांघाई बैंकिङ्ग कर्पोरेशन (एचएसबीसी)ले पनि महिलालाई यस्तो सुविधा प्रदान गर्दै आएका छन् ।
साथै, छिमेकी मुलुक भारतको आईसीआईसीआई बैंकले पनि बच्चा जन्माएका महिला कर्मचारीलाई प्रोत्साहन गर्ने हिसाबले काम गर्दै आएको छ । त्यसैगरी, क्यानडाको स्कोटिया बैंक, कमनवेल्थ बैंक अफ अष्ट्रेलियाले र सिंगापुरको डीबीएस बैंकले बैंकमा कार्यरत महिला कर्मचारीका लागि आफ्ना कार्यालयहरूमा स्तनपान र बालक हेरचाह कक्षको सुविधा समावेश गरेको छ।
डा. ढुंगाना भन्छिन् : नीतिगत व्यवस्थाका लागि पहल गर्छु
राष्ट्र बैंकमा समेत स्तनपान, शिशु स्याहार कक्ष नहुँदा कर्मचारीहरुमा समस्या सिर्जना भएको डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना बताउँछिन् । बैंकिङ्ग क्षेत्रमा महिलाको उपस्थिती बाक्लिँदै गएपनि शिशु हेरचाह र स्तनपान कक्ष नहुँदा समस्या भइरहेको अनुभूति रहेको उनको उनकाे भनाइ छ ।
उनले स्तनपानका साथै शिशु हेरचाह कक्ष सञ्चालनमा ल्याउन पहल गरिरहेको पनि बताइन् । ‘मातृत्वको जिम्मेवारी पुरा गर्दा पनि महिलाले चुनौती झेल्नुपर्ने हुन्छ,’ बैंकिङ्ग समाचारसँगको कुराकानीमा ढुंगानाले भनिन्, ‘महिलालाई सहज होस् भन्ने उदेश्यले कार्यक्षेत्रमा स्तनपान कक्ष, चाइल्ड केयर सेन्टर सञ्चालनका लागि नीतिगत व्यवस्था गर्नुपर्छ ।’
प्रतिक्रिया