बैंकिङ्ग समाचार, काठमाडौं ।
होटेल संघ नेपालले (हान) बैंकहरुले बढाएको कर्जाको ब्याजदरको विषयलाई लिएर चर्को आलोचना गरेको छ । कोभिड–१९ को मारमा परेका होटल व्यवसायहरु विस्तारै व्युंतिरहेको बेलामा बैंकहरुले कार्जा व्याजदर बढाउँदा लाखौं व्यवसायीहरु मारमा पर्ने भएकाले हानले यसको विरोध जनाएको हो । संघका उपाध्यक्ष विनायक शाहले तत्काल थप २ वर्षसम्मका लागि बैंकको साँवा–ब्याजको किस्ता तिर्ने समय थप नगरे होटेलहरू बन्द गर्ने सरकारलाई चेतावनी समेत दिए । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष शाहले सरकारले कोभिडको समयमा होटेलहरूलाई दिएको बैंकको साँवा, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए ।
उनले अहिले पनि होटेलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका वेलामा पनि बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने साँवा–ब्याज तिर्न दबाब दिए पनि पोखरा र भैरहवाका होटेल व्यवसायीले असोज मसान्तमा तिर्न सक्दैनौँ भनेर घोषणा गरेको भन्दै देशभरका होटेलहरूमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटेलहरू बन्द गर्ने समेतको चेतावनी दिए ।
बैंकको ब्याजदर एकल विन्दुमा झार्नुपर्छः अध्यक्ष राणा
यस्तै आइतबार हानकी अध्यक्ष सिर्जना राणाले एक विज्ञप्ति जारी गर्दै बैंकले ब्याजदर एकल बिन्दुमा हुनुपर्ने बताएकी छन । यदी बैंकहरुले यसो नगरे धेरै होटल–प्रतिष्ठान बन्द हुने जोखिममा पुग्ने उनले बताईन । होटलहरुले अझै पनि दैनिक घाटामा चलेको हानले जनाएको छ । सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभावले समेत पर्यटनमा नकारात्मक असर पुर्याएको व्यवसायीको भनाइ छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘ पर्यटक बढी आउने समयमा परेको निर्वाचनले समेत परोक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने चिन्ता व्यवसायीले गरेका छन् । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र व्यवसायमैत्री बनाउने घोषणा गरिए पनि राज्यबाट कुनै सुनुवाइ नभएको गुनासो व्यवसायीको छ । आजको सबैभन्दा जटिल समस्या बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र सावाँ–ब्याज बुझाउने तीव्र ताकेता नै हो । अहिलेको परिस्थितिमा हामीले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन सक्षम नरहेको हुँदा सावाँ ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनर्कर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो माग रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।'
कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने माग व्यवसायीले गरेका छन् । ‘बैंकहरुबाट लागू गरिएको हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने हाम्रो माग रहेको छ’ विज्ञप्तीमा भनिएको छ ।
पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको सावाँ ब्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको स्मरण गराउँदै उनले अहिलेको अवस्थाले होटलहरु बैंकको सावाँ र व्याज बुझाउन नसकेर क्रमिक रुपमा बन्द गरिनुपर्ने बाध्यता आएको बताएकी छन् ।
प्रतिक्रिया