काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा भाइरल कन्टेनको पछि लागेर निर्णय नलिन आग्रह गरेको छ । केन्द्रीय बैंकले हाल चलिरहेको ‘ग्लोबल मनी वीक २०२५’ अन्तर्गत वित्तीय चेतना दिने उद्देश्यले साथीभाइ तथा सामाजिक सञ्जालमाझ भाइरल कन्टेनको पछि नलागी आफू स्वयंले पनि सोको सत्यतथ्य बुझी विवेकपूर्ण ढंगले वित्तीय निर्णय लिन आग्रह गरेको हाे ।
राष्ट्र बैंकले २०२५ को ग्लोबल मनी वीकको नारा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ सहित सचेतनामूलक सन्देश जारी गर्दै कसैको वित्तीय सुझाव अनुसरण गर्नुअघि विचार गर्न पनि आग्रह गरेको छ। ‘त्यस्ता वित्तीय सुझाव, सल्लाह र जानकारी सही र आफूलाई सुहाउँदो छन् भनी यकिन गरौँ’, राष्ट्र बैंकद्वारा जारी सन्देशमा उल्लेख छ ।
चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाइने यो कार्यक्रम आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाइँदै आएको छ। विश्वव्यापी रूपमा वित्तीय चेतनामूलक अभियानका रूपमा स्थापित ग्लोबल मनी विक हालसम्म १७६ देशका छ करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ। नेपालमा पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो अभियानलाई सञ्चालन गर्दै आइरहेको छ।
प्रतिक्रिया