बैंकिङ्ग समाचार, काठमाडौं ।
कात्तिकमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका छन । असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरूले लागत बढ्ने भएपछि कर्जाको ब्याजदर स्वतः वृद्धि गर्ने भएका हुन । गत असारको तुलनामा असोज मसान्तसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढेको र सोही अनुपातमा कात्तिकदेखि लागू हुनेगरी बैंकहरूले नयाँ तथा पुरानो कर्जाको ब्याजदर बढाउने भएका हुन ।
कुन बैंकको आधारदर कति ?
असोजमा बैंकहरुको औषत आधारदर ९.५६ प्रतिशत रहेकोमा कात्तिकमा बढेर १०.५ प्रतिशतको हाराहारीमा पुगेको छ । ब्याजदर सार्वजनिक गरेको मेगा बैंकको आधारदर १०.१९ प्रतिशतबाट बढेर १०.४६ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशतबाट बढेर १०.८७ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशतबाट बढेर १०.७५ प्रतिशत, सानिमा बैंकको ९.५७ प्रतिशतबाट बढेर १०.४१ प्रतिशत, सिद्धार्थ बैंकको ९.५ प्रतिशतबाट बढेर ९.८५ प्रतिशत, एभेरेष्ट बैंकको ८.९२ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.८६ प्रतिशत बढेर ८.२० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.४ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ ।
यस्तै सनराइज बैंकले असार महिनाको बेसरेट १०.०८ राखेर सार्वजनिक गरेको छ । बैंकले यो घटाएर आधारदर सार्वजनिक गरेको छ । यसका साथै प्राइम बैंक, एनएमबि बैंक, सिभिल बैंक, प्रभु बैंक, एनसीसी बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक र नेपाल बैंकले भने आधारदर यथावत राखेका छन् ।
अब बैंकहरुको कर्जाको ब्याजदर १८ प्रतिशत माथि
बैंकहरुले आधारदर ३ महिनामा परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्था अनुरुप बैंकहरुले आधार दर बढाएका हुन् । बैंकहरुका आधारदर बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । आधार दर धेरै भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्छ त्यसमा प्रिमियम जोड्दा कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी हुन आउँछ । बैंकहरुले आधारदरसँगै प्रिमियम पनि बढाएपछि अधिकांश बैंकहरुको ऋणको ब्याजदर १८ प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । ११ प्रतिशत आधारदर र ७ प्रतिशसम्म प्रिमियम लिँदा बैंक्ले कर्जामा १८ प्रतिशतसम्म ब्याज लिने देखिएको हो ।
स्प्रेडदर ४ प्रतिशत पुग्यो
साढे ३ प्रतिशतको हाराहारीमा रहेको स्प्रेडदर पनि बढेर ४ प्रतिशत पुगिसकेको छ । स्प्रेडदर भनेको बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने निक्षेपको ब्याज र कर्जाको ब्याजबीचको अन्तर कायम राख्नका लागि तय गरिएको सीमा हो, जुन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको स्वच्छ प्रातिस्पर्धालाई कायम राख्दै नाफा र घाटालाई सन्तुलित बनाउनका लागि निश्चित प्रतिशत तोक्ने गर्छ । सर्वसाधारणबाट लिएको निक्षेपलाई लगानी गरेर उक्त लगानीबाट आएको व्याजदरबाट निक्षेपकर्ताको व्याज भुक्तानी गरेर बचेको रकम नै बैंकको आम्दानी हो ।
निक्षेपको ब्याजदर यथावत
बैंकहरुले निक्षेपको ब्याजदरलाई भने यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने भएका छन् । अहिले बैंकहरुले निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर कायम गरिएको छ । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।
ब्याजदर वृद्धिको चौतर्फि विरोध
निजी क्षेत्रका व्यवसायीहरूले निक्षेपको ब्याजदर वृद्धिको चर्को विरोध गरिरहेका छन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विभिन्न कार्यक्रममा कर्जाको ब्याजदर घटाउनुपर्ने बताएका छन । उनले स्प्रेड दरलाई ४.४ प्रतिशतबाट १ प्रतिशत घटाएर बैंकहरूको आधार दरलाई न्यूनतम बिन्दुमा कायम गर्नुपर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने प्रिमियमले समस्या आएको बताउँदै अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रुपमा लिएको आरोप लगाएका छन ।
एक कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालको उधोग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको छ,’ उनले भने, ‘पछिल्लो तथ्यांक हेर्दा एफडीआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गर्न सकिन्छ । लामो समय रेमिट्यान्समा निर्भर भए झनै समस्या आउँछ ।’ त्यस्तै, नेपाल होटेल संघले पनि बैंकहरुको चर्को ब्याज तिर्न नसक्ने घोषणा गरिसकेको छ । अर्थ मन्त्रालयले सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा बनाएको सुझाव समितिले महँगी र आर्थिक वृद्धिलाई ध्यानमा राखेर मात्रै ब्याजदरमा प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिएको थियो । त्यस्तै, ब्याजदरलाई घटाउन बैंकदरलाई समेत कम गर्नुपर्ने सुझाव बैंकको थियो ।
प्रतिक्रिया