ग्लोबल मनी वीक : सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट प्रभावित भई वित्तीय कारोबार गर्दा सचेत रहौँ: केन्द्रीय बैंक

ग्लोबल मनी वीक : सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट प्रभावित भई वित्तीय कारोबार गर्दा सचेत रहौँ: केन्द्रीय बैंक


काठमाडौं- नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सरबाट) प्रभावित भई वित्तीय कारोबार गर्दा हुन सक्ने आर्थिक नोक्सानीतर्फ सचेत रहन आग्रह गरेको छ । केन्द्रीय बैंकले हाल चलिरहेको ‘ग्लोबल मनी वीक २०२५’ अन्तर्गत वित्तीय चेतना दिने उदेश्यले सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट हुने आर्थिक निर्णयका जोखिमबारे सतर्क रहन आग्रह गरेको हो ।

बैंकले २०२५ को ग्लोबल मनी वीकको नारा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ सहित सचेतनामूलक सन्देश जारी गर्दै सामाजिक सञ्जालमा चर्चित इन्फ्लुएन्सरहरू सधैँ विशेषज्ञ नहुने र गलत सूचनाबाट आर्थिक क्षति हुनसक्ने भन्दै सचेत गराएकाे छ ।

साथै, केन्द्रीय बैंकले नागरिकलाई आर्थिक निर्णय लिँदा कुनै पनि जानकारीको स्रोतलाई सूक्ष्म अध्ययन गर्न र सही सल्लाह लिने सुझाव दिएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो । चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाइने यो कार्यक्रम आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाइँदै आएको छ।

विश्वव्यापी रूपमा वित्तीय चेतनामूलक अभियानका रूपमा स्थापित ग्लोबल मनी विक हालसम्म १७६ देशका छ करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ। नेपालमा पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो अभियानलाई सञ्चालन गर्दै आइरहेको छ।