आफ्नो लक्ष्य र आर्थिक, सामाजिक परिवेश सुहाउने वित्तीय निर्णय लिऔँः केन्द्रीय बैंक

आफ्नो लक्ष्य र आर्थिक, सामाजिक परिवेश सुहाउने वित्तीय निर्णय लिऔँः केन्द्रीय बैंक


काठमाडौं – आजदेखि सुरु भएको ग्लोबल मनी वीक २०२५ लाई लक्षित गर्दै केन्द्रीय बैंकले एक सन्देश जारी गरेको छ । केन्द्रीय बैंकले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आफ्नो वित्तीय लक्ष्य र आर्थिक, सामाजिक परिवेश सुहाउने वित्तीय निर्णय लिन आग्रह गरेको हो ।

केन्द्रीय बैंकद्वारा जारी सन्देशमा भनिएको छ ,‘ सामाजिक सञ्जालमा आफूले पछ्याउने र प्रभाव पार्नेहरुको कुरा सुन्न त सुनौं तर, वास्तवमा निर्णय लिँदा भने आफ्नो वित्तीय लक्ष्य आर्थिक, सामाजिक परिवेश सुहाउने किसिमको वित्तीय निर्णय लिऔँ’ 

राष्ट्र बैंकले बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आजदेखि ‘ग्लोबल मनी विक २०२५’ मनाइरहेको छ । आज बिहान आयोजित ‘नेशनल इभेन्ट लन्च’नामक कार्यक्रमको उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रूपमा ‘ग्लोबल मनी विक २०२५’  को सुरुवात गरे ।

चैत ४ गतेदेखि चैत १० गतेसम्म मनाइने यो कार्यक्रम आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाइँदै आएको छ। यस वर्षको ग्लोबल मनी वीकको नारा ‘थिङ्क बिफोर यु फलो, वाइज मनि टुमरो’ रहेको छ  ।

विश्वव्यापी रूपमा वित्तीय चेतनामूलक अभियानका रूपमा स्थापित ग्लोबल मनी विक हालसम्म १७६ देशका छ करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ। नेपालमा पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रूपमा यो अभियानलाई सञ्चालन गर्दै आइरहेको छ ।