बीमाको ८० प्रतिशत लगानी मुद्दतीमा, नवप्रवर्धनात्मक उत्पादनमा कम्पनीहरूको छैन ध्यान

बीमाको ८० प्रतिशत लगानी मुद्दतीमा, नवप्रवर्धनात्मक उत्पादनमा कम्पनीहरूको छैन ध्यान


काठमाडौं – बीमा कम्पनीहरूले नवप्रवर्धनात्मक उत्पादनमा लगानी गर्न छाडेर बैंकको मुद्दतीमा रकम राख्नेक्रम बढ्दो छ । तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीले करिब ७ खर्ब रुपैयाँ हाराहारी रकम बैंकको मुद्दती निक्षेपमा राख्ने गरेका छन्।कम्पनीहरूले नवप्रवर्धनात्मक क्षेत्रमा लगानीको अवसर खोज्न छाडेर सुनिश्चित आम्दानीको स्रोतकारुपमा रहेको मुद्धतीमा रकम जम्मा गर्दै आएका हुन् । तर, मुद्दती निक्षेपमा अधिकांश रकम राख्दा कम्पनीहरूले लगानी विविधीकरण गर्न सकेका छैनन् भने नयाँ बीमालेखमा समेत ध्यान पुर्याउन सकेका छैनन् ।

तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले मुद्दतीमा ७ खर्ब ४४ अर्ब भन्दा बढी रकम राखेका छन् । यसमा जीवन बीमा कम्पनीहरूको कूल लगानी ६ खर्ब ७७ अर्बको ८० प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूको हिस्सा ६७ अर्ब ३४ करोड रुपैयाँको ७९ प्रतिशत लगानी मुद्दतीमा छ । यो तथ्यांकले कम्पनीहरु नयाँ नयाँ बीमालेख ल्याएर सर्वसाधारणसम्म पहुँच पुर्‍याउनुपर्नेमा मुद्दती खातामा खुम्चिएको देखिन्छ । नेपाल सरकारले कम्तीमा ५० प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुर्‍याउने लक्ष्य तय गरेको छ । जबकि, वैदेशिक रोजगारीमा जानेहरूको समेत संख्या जोड्दा ४४ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएका छन् ।

मुद्दती निक्षेपमा बीमा कम्पनीहरूको ८० प्रतिशत रकम
जीवन बीमा कम्पनीहरूले लगानीयोग्य रकमको औसत ८० प्रतिशतसम्म रकम मुद्दती निक्षेपमा राखेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दती निक्षेपमा राखेका छन् । यसको अर्थ कम्पनीहरूले २० प्रतिशत रकम मात्रै लगानी विविधीकरणमा खर्चेका छन् ।

जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र पूर्वाधार बैंकको सम्पूर्ण मुद्दती निक्षेपमा गरी कुल ५ खर्ब ४३ अर्ब ८७ करोड रुपैयाँ राखेका छन् । यसमध्ये वाणिज्य बैंकहरुमा ४ खर्ब ८८ अर्ब ३९ करोड रुपैयाँ राखेका छन् । यस्तै, विकास बैंकहरुमा ४६ अर्ब ३६ करोड रुपैयाँ र पूर्वाधार बैंकमा १ करोड ८० लाख रुपैयाँ मुद्दतीमा राखेका छन् । यस्तै, वित्त कम्पनीहरूमा ७ अर्ब ३१ करोड मुद्दती निक्षेप जम्मा गरेका छन् ।

यो जीवन बीमा कम्पनीहरूको कुल लगानी ६ खर्ब ७७ अर्ब ५९ करोडको ८०.२७ प्रतिशत हो । यसको अर्थ कम्पनीहरूले मुद्दती निक्षेपमा ५ खर्ब ४३ अर्ब ८७ करोड रुपैयाँ लगाएका छन् । यसैगरी, निर्जीवन बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दती निक्षेपमा राखेका छन् । निर्जीवन बीमा कम्पनीहरूले कुल लगानीको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै ५३ अर्ब १० करोड रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

मोटर बीमा र म्यादी बीमाले धानेको बजार
जीवन बीमामा वैदेशिक रोजगार बीमा र म्यादी बीमा र निर्जीवन बीमामा मोटर बीमाले मात्र बजार चलेको छ । अन्तर्राष्ट्रिय अवस्थामा बीमा क्षेत्रमा नयाँ नयाँ ‘प्रडक्ट’को सुरुवात भए सँगै नेपालको बीमा बजारमा पुरानै पोलिसीमा बीमा कम्पनीहरूबीच नै अस्वस्थ प्रतिस्पर्धा छ । निर्जीवन बीमा कम्पनीले सम्पत्ति बीमा, मोटर बीमा, कृषि बीमा लगायतका उस्ता उस्तै पोलिसीहरू बेचिरहेका छन् ।

बीमा विज्ञ रविन्द्र घिमिरेले अहिलेका अवस्थामा बीमामा ‘इनोभेटिभ प्रोडक्ट’को आवश्यकता धेरै रहेको बताएका छन् । उनी भन्छन्, ‘बीमा कम्पनीहरूले आवश्यकता महसुस गरेपछि मात्र नयाँ पोलिसीको विकास हुने हो । बीमा कम्पनीहरूले बुझ्नुपर्छ।’ अन्तर्राष्ट्रिय बजारमा बीमाको गति तीव्र अवस्थामा जाँदै गर्दा नेपालमा बीमाको ‘प्रडक्ट’मा काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

जीवन बीमा कम्पनीहरूले म्यादी बीमा, वैदेशिक रोजगार बीमा, बालबालिका बीमा, आजीवन बीमा, लगायतको बीमा लेख बेचिरहेका छन् । जबकि, अन्य देशमा जीवन बीमा सम्वन्धि पनि विभिन्न प्रकारको बीमा प्रचलनमा छन् । ‘नयाँ–नयाँ इनोभेसनमा जानको लागि बीमा नियामकले पनि प्रोत्साहन गर्न आवश्यक छ,’ घिमिरेले भने । अबको दिनमा बीमा कम्पनीहरूले व्यवसायभन्दा बढी ‘इनोभेसन’मा ध्यान दियो भने बीमा बजारले अन्तर्राष्ट्रिय ‘लेवल’मा प्रभाव बनाउने उनको भनाइ छ ।

सृजनशीलता छैन, मुद्दतीमा थुप्रियो लगानीयोग्य रकम
निर्जीवन बीमा कम्पनी, जवीन बीमा कम्पनी, लघुबीमा कम्पनी गरी थुप्रै बीमा कम्पनीहरूले उस्तै–उस्तै किसिमको ‘प्रडक्ट’लाई फरक–फरक किसिमले उपलब्ध गराउँदै आइरहेका छन् । जबकि, बजारमा के–कस्तो आवश्यकता छ भन्ने कुराको भान नभएको हो भन्न सकिन्छ । समयको मागअनुसार बीमा कम्पनीहरूले नयाँ नयाँ प्रोडक्टको सुरुवात गर्न आवश्यक छ ।

जबकि, गत वर्षको यस अवधिको तुलनामा बीमाको दायरा १.११ प्रतिशत खुम्चिएको छ । पहुँच नकारात्मक बनेपछि बीमाको दायरा खुम्चिएर ४३.२७ प्रतिशतमा आइपुगेको छ । जुन, यसअघि ४४.३८ प्रतिशत पुगिसकेको थियो । बीमा कम्पनीहरूले नयाँ–नयाँ बीमालेखहरुको सुरुवात नगरेकाले बीमाको पहुँच नबढेको भन्ने भान नियामकले समेत गरेको छैन । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली नेपालका बीमा कम्पनीहरू भौतिकरुपमा दिँदै आएको सेवा छाडेर ‘डिजिटल’ सेवा दिने होडमा लाग्न थालेका बताउँछन् ।

उनले भने, ‘यद्यपि, कम्पनीहरू ‘पेपरलेस पोलिसि ’मा अघि बढ्नका लागि नयाँ–नयाँ प्रविधिको अवलम्बनमा लाग्न थालेका छन्।’ बीमा कम्पनीहरू ‘पोलिसी’मा इनोभेटिभ भइरहेको छन् भने पनि कुनै पनि तरिकाले यस्तो देखिँदैन । उनी थप्छन्, ‘भविष्यमा बीमा कम्पनीहरू ‘रोबिटिक’ प्रक्रिया र अटोमेसन लगायतको प्रयोगमा समेत अघि बढ्ने छ ।’ नयाँ–नयाँ प्रविधिमा कम्पनीहरू बिस्तारै अघि बढ्ने छन् ।

अहिलेको अवस्थामा डिजिटल माध्यममा बीमा कम्पनीहरू केन्द्रित भइरहेको उनको भनाइ छ । ‘पूर्णरुपमा अटोमेसनमा नपुगे पनि डिजिटलाइजेसनमा कम्पनीहरू पुगेका छन्,’ उनले भने । यसैगरी, कम्पनीहरू एआई, मेसिन लर्निङ, ब्लक चेन, रोबोटिक प्रक्रिया लगायतका क्षेत्रमा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । बीमा कम्पनीहरू विस्तारै हरेक पक्षमा अन्तर्राष्ट्रियस्तरमा पुग्न कोसिस गरिरहेका छन् । यसमा समय लागेता पनि पूर्णरुपमा हुने उनले भने ।