‘बीमा कम्पनीले दाबी भुक्तानी दिँदैनन् भन्ने भाष्य फेर्नुपर्छ’

‘बीमा कम्पनीले दाबी भुक्तानी दिँदैनन् भन्ने भाष्य फेर्नुपर्छ’


काठमाडौं – सन् २००० देखि एभरेष्ट इन्स्योरेन्सबाट बीमा ‘करिअर’ सुरुवात गरेकी रेना अहिले महिला नेतृत्वमा आफूलाई अब्बल साबित गर्दैछिन् । बीमा क्षेत्रमा ९ वर्ष काम गरेपछि रिनाले १२ वर्ष बैंकिङ्ग क्षेत्रमा अनुभव बटुलिन् । काठमाडौंमा जन्मेकी रेनाको बाल्यकालको सपना डाक्टर बन्ने थियो । त्यसपछि, सानिमा जिआइसी हुँदै अहिले युनाइटेड अजोड इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) को रुपमा कार्यरत छिन् ।

उनी बीमा क्षेत्र अप्ठ्यारो पर्दाको साथी हो भन्ने कुरा जनमानसमा फैलाउन चाहन्छिन् । बीमा क्षेत्रको अवस्था, सम्भावना र सम्बन्धित निकायको भूमिकाहरूको विषयमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीकी उनै डिसीईओ रिजालसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंशः

अहिले नेपालको बीमा क्षेत्रको अवस्था कस्तो छ ? र, अझै पनि यस क्षेत्र प्रभावकारी नहुनको कारण के हो ?
बीमा क्षेत्र वर्तमान समयको मागअनुसार सुस्त तरिकाले चलिरहेको छ भन्न सकिन्छ । यस क्षेत्रमा सम्भावना भएपनि केही कुरामा कमी छ। विगतको तुलनामा केही सुधार भने भएकाे छ । तर, अझै बीमाको पहुँच बढाउनु हाम्रो उद्देश्य हो । बीमा क्षेत्रमा भने जस्तो सुधार नआउनुको पहिलो कारण चेतनाको अभाव नै हो भन्न सकिन्छ ।

हामी बीमा कम्पनी र नियामकहरूले अझै प्रभावकारी सचेतना कार्यक्रमहरू ल्याउनुपर्छ । सरकारले पनि बीमा अनिवार्य हो भनेर ग्राहकहरूलाई बुझाउने हो भने बीमा क्षेत्रमा सुधार देख्न सकिन्छ । मोटर बीमा अनिवार्य गरेजस्तै अन्य क्षेत्रमा पनि बीमा आवश्यक छ भन्ने विषय बुझाउन सरकारले कदम चाल्नुपर्छ ।


सुरुमा बीमामा काम गरेर बैंकिङ्ग क्षेत्र छिर्नुभयो र लामो अनुभव बटुलेर पुनः बीमा क्षेत्रमा फर्किनु भयो । यी दुई क्षेत्रमा के फरक पाउनुभयो ?
बैंकिङ्ग क्षेत्र र बीमा क्षेत्रमा काम गर्नु मेरो लागि सिकाइका हिसावले उत्कृष्ट रह्यो । बीमा क्षेत्रभन्दा बैकिङ्ग क्षेत्र निकै व्यवस्थित भइसकेको छ । बीमा क्षेत्र अझै निकै व्यवस्थित हुन् बाँकी छ । अबको केही समयमा बीमा क्षेत्रलाई पनि बैकिङ्ग क्षेत्र जतिकै नै अगाडि बढाउने हाम्रो उद्देश्य हो । बैंकिङ्ग डिजिटल रुपमा, सेवा सुविधाकोरुपमा व्यवस्थित भैसकेको छ । जनमानसमा पनि बैंकहरुले विश्वास दिलाइसकेका छन् । अब बीमा क्षेत्रमा पनि केही वर्षमा सुधार देख्न सकिन्छ ।


बीमा कम्पनीले प्रिमियम लिन्छन् । तर, दाबी भुक्तानी दिँदैनन् भन्ने बुझाइ छ । यो समस्या अझै हटेको छैन ?
बीमा कम्पनीले बीमा गराएपछि नीति अनुसार समय समयमा प्रिमियम लिनु नै पर्ने हुन्छ । बीमितसँग सोही अनुरूप कुरा भएको हुन्छ । बीमितलाई केही समस्या पर्यो भनेर क्लेम आउँदा कम्पनीहरूले हामी दिँदैनौ भनेर भन्दैन । जसरी जून नीतिमा पोलिसीको खरिद भएको हुन्छ, त्यसरी नै बीमा दाबी भुक्तानीको पनि सिस्टम हुन्छ । सबै डकुमेन्ट, कस्तो अवस्थामा क्लेम हुने नहुने सबै हुन्छ । जून बीमितलाई अगाडि नै बुझाएको हुन्छौँ ।

तर, केही कारणवश सबै कुरा नजुटेपछि क्लेममा समय लाग्छ । जून, बीमितले नै कुरा नबुझेर हुन्छ । त्यसैले पोलिसी किन्ने बेला सबै बुझेर लिनपर्छ जसको कारण क्लेम गर्ने समय सबै तथ्य, कागजात जुटेको खण्डमा बीमा कम्पनीले दाबी रकम दिँदैनौँ भन्दैन र भन्न पनि मिल्दैन । सबै जनाले प्रणालीमा बसेर काम गर्ने हो । बीमा कम्पनीले दाबी दिँदैन भन्ने भ्रम हटाउनका लागि हामीले समयमा नै भुक्तानी दिइरहेका हुन्छौँ ।


यतिबेला तपाईँ कम्पनीको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । तपाईँको नेतृत्वमा हामीले बीमा क्षेत्रमा के कस्तो सुधार देख्न सक्छौ ?
मलाई बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियरूपमा अगाडि बढाउन मन छ । अन्तर्राष्ट्रिरूपमा यस क्षेत्रलाई अगाडि बढाएर विकास गर्नु हाम्रो कर्तव्य हो । नेपालको बीमा बजारमा सहभागिता, बुझाइ एकदम नै कम छ । सरकारले पनि यो सबै परिस्थितिलाई बुझेर अब बीमा क्षेत्रलाई सुधार गर्न आवश्यक छ ।

सरकारले यो विषयलाई गहिराइले लिएर साथ दिनुपर्छ । बैकमा ऋण लिने समयमा मात्र बीमा गर्नुपर्छ भन्ने बुझेका हुन्छन् । अनिवार्य गरिदिएको खण्डमा मात्र बीमा गरेको पाइन्छ, जुन गलत हो । यसमा बीमा कम्पनीहरूको पनि गल्ती छ । सचेतना र बीमाको पोलिसी नयाँ दिन नसक्नु पनि गल्ती नै हो । आगामी केही समयमा अब बीमा क्षेत्रमा पनि सुधार देख्न सकिन्छ। बीमा अप्ठ्यारो समयको साथी हो भन्ने सबैले बुझ्न आवश्यक छ ।


महिला भएर कुनैपनि क्षेत्रमा नेतृत्व पद सम्हाल्न सकिन्छ भन्ने कुरा साबित गर्दै हुनुहुन्छ । तपाईँहरू जस्तै महिलाहरूले आफूलाई सक्षम बनाउन के गर्ने ?

हरेक काम गर्नको लागि आफूमा आत्मविश्वास हुनु पर्छ । वास्तवमा गर्न सक्ने महिलाहरूले नै हो । प्रकृतिले पनि महिलाहरूलाई ‘मल्टिट्यालेन्ट’ बनाएको छ । हामी सबै ठाउँको जिम्मेवारीलाई राम्रोसँग निभाउन सक्ने प्रकृतिले बनेका छाैँ । त्यसैले महिलाहरूले नै आफूले गर्न सक्छौ भन्ने हुनुपर्छ । सबै जनाको लागि उत्तिकै अवसरहरू हुन्छन् । तर, यसमा कसले कति अवसरलाई स्वीकार गरेर अघि बढ्यो भन्ने कुराले मान्यता राख्छ ।

महिला भएर नेतृत्व सम्हाल्न कतिको गाह्रो हुँदो रहेछ ?
सबै क्षेत्रमा महिलाहरूको लागि गाह्रो नै छ । तर, म आफ्नो विषयमा चुनौतीकोरुपमा भन्दा पनि अवसरको रूपमा लिन्छु । महिला पुरुष जाे भएपनि काम गर्ने तरिका र जिम्मेवारी एउटै हो । महिला भएर घरपरिवार सबै सम्हाल्नुपर्छ यसमा चुनौती छ । तर, कुनै पनि कामलाई चुनौतीको रूपमा नलिएर सबै चुनौतीलाई सामना गरेर समाधान गर्नुपर्छ ।