काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बैंक तथा वित्तीय संस्था खराब साहुको जस्तो व्यवहार गरेको बताए । प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ लाई सम्बोधन गर्दै बैंकहरु खराब साहुकारुपमा उत्रिएको बताएका हुन् । उनले थपे, ‘उद्योगहरू समस्यामा पर्न साथ बैंकहरुले ऋण असुल्न लागिपर्छन् । बैंकहरुले उद्योगी, व्यवसायी, कृषकहरू समस्यामा पर्दा व्यवसाय टिकाउन सहयोग गर्नुपर्नेमा घटामा पर्न लागेको जानकारी पाउनसाथ कर्जा असुल्न विभिन्न हतकन्डा गर्छन् ।’
प्रधानमन्त्री ओलीका अनुसार बैंकहरु खराब साहुकारुपमा विकसित भइरहेका छन् । देख्दा ऋणी खराब देखिए पनि वास्तविकतामा खराब बैंकहरु रहेको उनको भनाइ थियो । जसले ऋणी समस्यामा परेको समयमा घाटी थिच्ने गर्छन् । यद्यपि, व्यवसायी समेत ऋण लिनुअघि विचार पुर्याउनुपर्ने ओलीको भनाइ छ ।
यो भनाइ विवादित छवि बनाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँकै भनाइसँग मिल्दोजुल्दो देखिन्छ । अर्थात्, प्रसाईँका भनाइहरूबाट उग्रपन झिक्दा ओलीकै जस्तो भनाइ निस्कन्छन् । प्रसाईँले विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थाविरुद्ध आगो ओकल्दै आएका छन् ।
उनले बैंकहरुले ऋण असुल्न आएमा कालो मोसो दल्न सर्वसाधारणलाई उचाल्दै आएका थिए । यस्तै, बैंकका शाखाहरू तोडफोड गर्नका लागि समेत प्रसाईँले सर्वसाधारणलाई उचाल्ने गरेका थिए । यसबाहेक निश्चित सीमामा रहेको सर्वसाधारणको ऋण सरकारले मिनाहा गर्नुपर्ने उनको माग थियो ।
प्रधानमन्त्री ओलीले भनेजस्तै प्रसाईँले समेत बैंकहरु खराब साहु भएको बताउँदै आएका थिए । प्रसाईँका अनुसार बैंकहरुले सर्वसाधारणलाई पीडामा पारेर निरन्तर नाफा आर्जन गर्दै आइरहेका छन् । यस आधारमा प्रसाईँको भनाइबाट उग्र भाषणबाजी निकाल्ने हो भने प्रधानमन्त्री ओलीले समेत उनकै पथ पछ्याएको देखिन्छ ।
सरकारको नेतृत्व गरिरहेका व्यक्तिबाटै यस्तो मन्तव्य आएपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग आएको छ । प्रधानमन्त्रीस्तरबाटै बैंकहरुले खराब व्यवहार गरिरहेको बताइएपछि बैंक तथा वित्तीय संस्थामा तरङ्ग आएको हो । प्रधानमन्त्रीको तहबाटै बैंकलाई खराब साहुकारुपमा चित्रित गरेपछि यो क्षेत्र नझस्कने कुरै भएन ।
बैंकले ऋणीसँग छलफलै गरेनन्: गभर्नर अधिकारी
प्रधानमन्त्री ओलीले अचानक बैंकविरुद्ध भाषणबाजी सुरु गरेका भने होइनन् । नेकपा एमालेकै संगठित सदस्यकारुपमा रहेको एम अधिकारी नै गभर्नर महाप्रसाद अधिकारी हो भन्ने आरोप जोडतोडका साथ लाग्दै आइरहेको छ । हुन पनि गभर्नरकारुपमा अधिकारीलाई यसअघिको ओली सरकारले नै नियुक्त गरेको थियो ।
गभर्नर अधिकारीले माघको मध्य सातातर्फ बैंक तथा वित्तीय संस्थाविरुद्ध असन्तुष्टि पोखेका थिए । उनले काठमाडौंकै एउटा कार्यक्रममा सम्बोधन गर्दै ऋणीहरूसँग छलफलै नगरी कालोसूचीमा राख्ने प्रवृत्ति बढेको बताएका थिए । गभर्नर अधिकारीका अनुसार समस्यामा पर्नसाथ बैंकहरुले ऋणी विरुद्ध कारबाहीको कदम चाल्ने र कालोसूचीमा राख्ने गर्दै आइरहेका छन् ।
त्यस क्रममा गभर्नर अधिकारीले यो प्रवृत्ति छोडेर व्यवसायीसँग सौहार्दपूर्ण सम्बन्ध बनाउनुपर्ने समेत बताएका थिए । ‘बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई समेत साथ लिएर अघि बढ्नुपर्छ,’ गभर्नर अधिकारीले प्रधानमन्त्री ओलीकै जस्तो शैलीमा भनेका थिए, ‘बैंकहरुले व्यवसायीलाई पनि बचाउनुपर्छ।’
बैंकले व्यवसायी मारिरहेका छन् ?
नेपाल राष्ट्रिय व्यवसायी महासंघकाअनुसार कोरोना कालयता देशभरका सानाठूला गरी करिब ४० जना उद्योगी व्यवसायीले आत्महत्या गरे । यीमध्ये अधिकांश न्यूरोडका व्यवसायी भएको महासंघको दाबी छ । यसबाहेक, नयाँ बानेश्वरमा आत्मदाह गर्ने व्यवसायी समेत ऋणमा डुबेको बताइएको थियो ।
कोरोना कालमा सरकारले महामारी रोकथामका लागि विश्वव्यापी प्रचलन बमोजिम लकडाउन गर्यो । लकडाउनको समयमा सबैजसो पेसा व्यवसाय बन्द गर्नुपर्यो । यसबाट, बैंकबाट ऋण लिएका व्यवसायीलाई समस्या पर्न थाल्यो । बैंकहरुले तारान्तार फोन गरेर उद्योगी–व्यवसायीलाई मानसिक तनाव दिन थाले र विगतमा उत्कृष्ट कारोबार इतिहास बनाएका व्यवसायीलाई समेत तनाव सिर्जना गरे।
धेरैले यही तनाव खेप्न नसकेर आत्महत्या गरेको महासंघको भनाई छ । यसबाहेक, सोही समयमा अर्थतन्त्र जोगाउन भन्दै नेपाल राष्ट्र बैंकको योजनाअनुरुप बैंकहरुको कर्जाको ब्याज १५ प्रतिशतसम्म पुर्याइयो । जसबाट, समस्यामा परेका व्यवसायी झनै समस्यामा परे । फलस्वरुपः देशभरका उद्योगी व्यवसायीले कालो ब्यानर बोकेर माइतीघर लगायत क्षेत्रमा आन्दोलन गरेका थिए।
बैंकले धेरै नै तनाव दिन थालेपछि विभिन्न व्यवसायीक संघसंस्थाका अध्यक्षहरूले परिस्थिति साम्य भएपछि बैंकबाट ऋण नलिने दाबी गरेका थिए । उनीहरूले तत्कालीन समयमा भनेका थिए, ‘अहिले हामी समस्यामा छौँ । स्थिति साम्य भएपछि हामी बैंकबाट ऋण नै लिँदैनौँ ।’ यी भनाइहरूको प्रतिफल यतिबेला देखिँदै पनि आएको छ ।
लामो समयदेखि ब्याजदर घट्दो अवस्थामा आएर दशककै न्यून बिन्दुमा आइपुगेको छ । यस्तै, बैंकहरुमा पर्याप्त तरलता थुप्रिँदा बजारमा माग बढ्दा समेत ऋणको माग बढ्न सकेको छैन । ‘यो कोरोना कालमा बैंकहरुले हामीलाई दिएको दुःखकै प्रतिफल हो,’ एक व्यवसायी भन्छन् ।
कारबाही किन नगरेको ?
राष्ट्रका कार्यकारी प्रमुखले नै बैंकहरु खराब साहुजस्तो भएको बताइरहेका छन् । यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नरले समेत बैंकहरुकै कारण कालोसूचीमा पर्नेको संख्या बढेको बताउँदै आएका छन् । कर्जा सूचना केन्द्रको तथ्याङ्क अनुसार कोरोना काल यता कालोसूचीमा पर्नेको सूची समेत बढेको देखिन्छ ।
राष्ट्र प्रमुखले नै व्यवसायी बचाउनुपर्नेमा बैंकले खराब साहुको व्यवहार देखाएको बताउँदै गर्दा कारबाहीको पाटोमा भने सरकारले लागेको देखिँदैन । बैंकहरुले गलत गरेका छन् भने कारबाही गर्ने र गलत गरेका छैनन् भने सस्तो लोकप्रियताका लागि दुर्गा प्रसाईँकै पदचाप पछ्याउँदै बैंकविरुद्ध प्रचारबाजीमा लाग्न रोक्नुपर्छ ।
प्रतिक्रिया