काठमाडौं – विगतको तुलनामा अहिले विभिन्न वित्तीय क्षेत्रको उच्च पदमा महिलाहरूको सहभागिता बढ्दो अवस्थामा छ । यस क्षेत्रका महिला ‘लिडर ’हरू पनि थपिँदो रूपमा छन् । अनुभव धैर्यता र मिहिनेतले सफलता हासिल गर्न सकिन्छ र महिला पनि नेतृत्वका लागि काबिल हुन्छन् भन्ने उदाहरण छाड्दैछन् । बीमा क्षेत्रको ‘लिडिङ्ग’ रोलमा महिलाहरूको सहभागिता बढेसँगै धेरै महिलाहरूको लागि हौसला र प्रेरणा मिलेको छ ।
बीमा क्षेत्रमा प्रभावशाली महिलाहरूको नाममा छुटाउन नमिल्ने नाम हो, हिमालयन एभरेष्टको प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ । २०८१ असोज १६ गतेदेखि उनी आगामी चार वर्षका लागि प्रमुखमा नियुक्त भएकी छन्, उनी । यससँगै, बीमा उद्योगले थप एक महिला प्रमुख पाएको छ । अर्थात्, महिलाको नेतृत्वमा आफूलाई थप मजबुत बनाउने अवसर बीमा उद्योगले पाएको छ ।
काठमाडौं इन्द्रचोकमा जन्मिएकी अन्जुको बाल्यकाल निकै रमाइलोसँग बित्यो । घरमा आमा बुबा र दुई दाइ सहित पाँच जनाको परिवार थियो । बाल्यकालदेखि नै आफ्नो हक अधिकार खोज्ने प्रवृत्तिको अन्जु निकै बाठी स्वभावकी थिइन् । सानोमा दाइहरूलाई दिइने सेवा सुविधा जस्तै सुविधा आफूले पनि पाउनुपर्ने उनको नीति हुन्थ्यो । सिधा–सिधा भन्नुपर्दा हक्की र निडर स्वभावकी थिइन् अन्जु ।
वनस्थलीमा आफ्नो पढाई निरन्तरता दिएर उनी भारत पढ्न गइन् । भारतमा १२ सम्म भारतमा पढेर नेपाल फर्किइन् । नेपालको पिपुल्स क्याम्पसबाट ब्याजलर र शंकरदेवबाट मास्टर सकाइन् । कमर्समा आफ्नो पढाई भएका कारण उनले बैंक तिर काम गर्ने सोचमा हिमालयन बैंकमा अवसर खोजिन र नाम निस्कियो पनि । तर, उनलाई बैंकभन्दा बीमा क्षेत्रमा लगाव बढ्दै गयो र बीमा क्षेत्र प्रवेश गरिन्।
अन्जु हिमालयन इनस्योरेन्समा ‘असिस्टेन्ट अफिसर’बाट काम सुरुवात गरिन् । बिस्तारै पढाइसँगै उनले कामलाई पनि उत्तिकै लगनले गर्न थालिन् र सबैको नजरमा इमानदार र मिहेनतीकाेको रूपमा चिनिन् थालिन् । आज ३० वर्षपछि सोही कम्पनीको प्रमुखको पदमा उनी आफ्नो दायित्व निर्वाह गरिरहेकी छिन् ।
‘विगतको तुलनामा बीमा बजारको अवस्था बिग्रेकाे छ’
उनले काम गर्न सुरुवात गरेको समयमा बीमा क्षेत्रमा अत्यन्तै राम्रो परिवेश थियो । उनले काम सुरु गर्ने समयमा काम सिक्न पनि सहज वातावरण रहेको थियो । ‘मैले काम सुरुवात गर्ने समयमा बीमा क्षेत्रमा काम गर्न सहज थियो, अहिले बीमा बजारको अवस्था बिग्रेकाे छ काम गर्न पनि गाह्रो छ,’ उनी सम्झिन्छिन् ।
‘मचाहिँ आफ्नो तर्फबाट सक्दो गर्ने बाँकी प्रक्रियामा विश्वास गर्ने व्यक्ती हो,’ उनले भनिन् । उनी आफ्नो काम गराईको यति लामो समयमा एउटै धारणा लिएर अघि बढिरहेको बत्ताउँछिन् । अरूले राम्रो भनोस् भनेर काम गर्ने नभएर आफ्नो तर्फबाट इमान्दारतीको साथ जिम्मेवारी निभाउनुपर्नेमा उनको जोड छ । कम्पनीबाट बाहिरी देशहरूसँग बढी समन्वय गर्नुपर्ने भएकाले अन्जु नेपाली बीमा बजारसँग भन्दा बढी विदेशी बजारसँग परिचित छिन् ।
‘चुनौतीलाई स्विकारेर आफ्नो क्षमता वृद्धि गर्नुपर्छ’
बीमा क्षेत्रमा मात्र नभएर विभिन्न क्षेत्र महिलाहरूका लागि चुनौतीपूर्ण छ । चुनौती सानो ठुलो नहुने भए पनि सामना गरेर व्यवस्थापन गर्नुतर्फ ध्यान केन्द्रित गर्ने स्वभावकी छिन् अन्जु । महिलाहरूलाई जतिसुकै समाज घर परिवार कम्पनीहरूले ‘फ्रिडम’ दिए पनि समस्या जस्ताको त्यस्तै रहेको उनको भनाई छ । ‘पहिलाको परिवेशमा म आफूलाई भाग्यमानी ठान्छु, साथै काम गर्ने पुरुष साथीहरूबाट मिल्ने सकारात्मक साथ सहयोग महिलाहरूलाई हेर्ने नजर धेरै राम्रो थियो,’ श्रेष्ठ थप्छिन् ।
तर, पछिल्लो समय पुरुषको ‘अन्डर’मा काम गर्न समस्या उत्पन्न हुने उनको भनाई छ । बीमा क्षेत्रमा आफू केही कुरामा नडराउने गरेको बताउँदै भनिन्, ‘धेरै महिलाहरूलाई काम गर्न सबै पक्षबाट एक्टिभ हुन् सिकाउँछिन् ।’ सबै जनालाई राम्रो परिवेशमा काम गर्न सकिने वातावरण सिर्जना गर्ने उनले सोचेकी छिन् । आफ्नो कार्यकालमा पनि महिला र पुरुष दुवैको दक्षता हेरेर मात्र कार्य जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता उनको छ ।
‘महिला केन्द्रीन बीमालेख ल्याउने योजना’
पछिल्लो समय बीमा जगतमा व्यवसाय मात्र नभएर बीमा लेखमा सृजनशीलता पनि खोज्न थालिएको छ । यस्तो अवस्थामा बजारको आवश्यकता हेरेर कम्पनीहरूले नयाँ नयाँ बीमालेख ल्याउनुपर्ने हुन्छ । यसैमा अन्जुले महिलाहरूकै लागि मात्र आवश्यक रहेको पोलिसीहरु ल्याउने योजना बनिरहेकी छिन् । ‘बजारमा बीमाको दायरा बढाउनका लागि कुन पोलिसी आवश्यक छ, त्यो पोलिसीहरुको सिर्जना गरी बीमा बजारमा केही हद सम्म सुधार गर्न सकिन्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छिन् ।
फुर्सदको समयमा विभिन्न ‘नोबेल’ पढ्ने उनी कार्यालयको व्यस्ततालाई व्यवस्थापन गरेर परिवारलाई पनि उत्तिकै समय दिन्छिन्। बीमा क्षेत्रमा काम गरेर उनी बीमामा अनुभवी व्यक्ति भइसकेकी छिन् । बीमा व्यक्तिका लागि मात्रै नभएर सिङ्गो राष्ट्रलाई योगदान पुर्याउने क्षेत्र हो । यही कारण, अन्जुको योजना व्यक्ती भन्दा राज्य केन्द्रित नीतिमा छ ।
(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)
प्रतिक्रिया