काठमाडौं – महिलाका लागि बैंकिङ्ग क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ माहिलामैत्री वातावरण छ । घरबाट सहजै निस्किएर काम गर्न सक्ने र आर्थिकरुपमा समेत सबल बन्न सक्छन् । उनीहरुलाई बैंकिङ्ग क्षेत्रले आत्मनिर्भर बनाउनुका साथै आर्थिक रुपमा पनि सबल बनाउन सहयोग गर्छ । नाम र दाम दुवै हुने भएका कारणले नै धेरै युवा (महिला)हरु बैंकिङ्ग क्षेत्र प्रवेश गर्न चाहन्छन्।
यसैको ज्वलन्त उदाहरण नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी ‘जेनरल असिस्टेन म्यानेजर’ सृजना पाण्डे हुन् । काम गर्न निकै सुरक्षित रहेको र आर्थिकस्तरमाथि उठाउन सक्ने क्षेत्र भएकाले महिला अझ यस पेसामा सहभागी हुनुपर्ने उनको भनाई छ । यहीकारण, बढ्दो प्रतिस्पर्धाका कारण बैंकिङ्ग क्षेत्रमा आउन पहिले जस्तो सहज छैन । सृजना पनि अहिले बैंकिङ्ग क्षेत्रमा प्रतिस्पर्धा धेरै रहेको बताउँछिन् ।

काठमाडौंमा जन्मेहुर्केकी सृजनाका बुबा नेपाल बैंकका जागीरे हुन् । उनका हजुरबुबा पनि जागीरे नै थिए । यहीकारण पनि सृजनालाई बैंकिङ्ग क्षेत्रमा आउन प्ररेणा मिल्यो । उनी जेनरल म्यानेजर पदमा कार्यररत रहँदा विभिन्न ठाउँमा सरुवा भइरहने हुँदा सृजनाले देशको भुगोललाई नजिकबाट नियालेकी छिन् । सृजनाले विद्यालयस्तरको पढाई काठमाडौं लगायत विभिन्न ठाउँबाट गरेतापनि कक्षा ११, १२ र स्नातक तहको पढाई इन्डिया बैंङ्गलोरबाट गरेकी हुन् ।
उनले ‘एमए’ भने काठमाडौं विश्वविद्यालयबाट गरेकी हुन् । उनलाई सानोमा संगितमा निकै रुचि थियो । संगितमा रुची भएकै कारण नारायण गोपाललाई पछ्याउँथिन् । तत्कालिन समयमा नारायण गोपालको निधन हुँदा गैह्रिधारादेखि साथीबिना नै माला चढाउन पशुपति समेत पुगेकी थिइन् । गोपाल साह्रै मनपर्ने गायक थिए । संगितप्रति निकै रुचि जागेको समयमा बुबाले कहिँकतैबाट के ल्याइदिउँ भन्दा समेत उनले सिडी मगाउने गर्थिन् ।
यसरी बनिन् बैंकर
सृजनाका अनुसार आफ्नो पढाई राम्रो भएकाले सबैले विज्ञान नै अध्ययन गर्न सुझाउथे । उनी जब विज्ञान पढ्न भनि भारत पुगिन्, तब उनले भर्ना गर्ने समयमा विज्ञान विषयमा नभई कमर्स विषय छनोट गरिन् । कमर्श लिएर पढेपछि पहिलो रोजाई बैंक बन्यो । बुबा पनि बैंकर भएका कारण पनि यो क्षेत्र प्रवेश गर्न उनलाई थप सोच्नुपर्ने अवस्था समेत थिएन । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु अघि थुप्रै संघर्ष गर्नुपरेको बताउँछिन् सृजना ।

थुपै ठाँउमा कामको लागि आवेदन दिएको अनुभव पनि छ उनमा । जागिरको खोजीमा केही समय भौतारिएपछि ‘इन्टरनेशनल लीजिङ एण्ड फाइनान्स’ कम्पनीमा आवेदन दिइन् र छननौट भइन् । त्यहीबाट सुरु भयो सृजनाको जागीरे जीवन । उनले त्यहाँ तीन वर्ष काम गरिन् । तर, फाइनान्समा रोकिएर सिमित अवसरमा रमाउन थिएन उनलाई । यही सोचेर बैंकतर्फ मोडिने सोच बनाउँदै हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आवेदन दिइन् र नाम निकालिन । उनी एनआईएमबीमा जोडिएको २२ वर्ष वितिसकेको छ । यसक्रममा उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा विभिन्न डिपार्टहरु सम्हाल्दै आइरहेकी छिन् ।
उनको बुझाईमा १० वर्षको अन्तरालमा बैंकिङ्ग क्षेत्रमा महिलाहरुको सहभागीता निकै परिवर्तन आएको छ । उनले पहिले बैंकमा महिला देखिएपनि सानो पदमा मात्रै रहने तर हाल भने नियामकमा समेत महिलाहरुको सहभागीता बढिरहेको बताइन् । ‘यसक्षेत्रमा महिला सहभागी भएपनि तल्लो तहको पदमा मात्र देखिने,’ उनले भनिन्, ‘अझ सरकारी बैंकहरुमा त महिलाहरुको संख्या नै थिएन, तर अहिले ठुलाठुला तहमा पनि महिलाको संख्या बढ्दो देखिन्छ ।’ उनले महिलाको सहभागीता बढिरहेकाले महिलाको रोल पनि परिवर्तन भइरहेको छ ।

समय व्यवस्थापनमा समस्या
उनको बुझाईमा बैंकिङ्ग क्षेत्र महिलामा लागि काम गर्ने वातावरणको हिसाबले निकै राम्रो क्षेत्र हो । तर, बैंकिङ्ग क्षेत्रका पुरुषहरुको तुलनामा महिलालाई समयको व्यवस्थापन गर्न भने असहज हुने गर्छ । उनले पनि आफ्नो बच्चा सानो हुँदा विभिन्न चुनौती सामना गरेर अघि बढ्नुपरेको बताइन् । तर, उनलाई घर परिवारको सपोर्ट भने राम्रो मिलेको थियो । ‘बच्चा सानो हुँदा यता अफिसमो मिटिङ्ग पर्थो उता घरमा बच्चा बिरामी हुन्थ्यो । न त मिटिङ्ग छाड्न मिल्ने न बच्चाको हेरचाह गर्ने तर मलाई घर परिवारले साथ दिनुभयो’ उनले भनिन् ।
परिवारलाई हेर्नुपर्छ भनेर अफिस नआएको दिन नभएको उनी बताउँछिन् । बैंकको जागीर ठूलो पदमा पुग्दै जाँदा कठिन हुने बताउँछिन् । कामको स्तर बढ्दै जाँदा जिम्मेवारी पनि बढ्ने उनी बताउँछिन् । आफ्नो कामबाट एकदमै सन्तुष्ट रहेकी सृजना समस्यामा परेको मानिसहरुलाई आर्थिक सहयोग गर्न पाउँदा निकै खुशी पनि छिन् । बैंकमा आवद्ध भएर काम गर्दा निकै चुनौतीहरु सामना गर्दै आइरहेकी छिन् ।
‘आफु महिला हो म यो काम गर्दिन भनेर बस्न मिल्दैन, कामको सिलसिलामा जहाँ जान परेनी आफुलाई तयार राख्नुपर्ने स्थिती आउँछ’ उनी भन्छिन् । महिलाले पनि आफ्नो जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्ने बताउँछिन् । उनले शहरी क्षेत्रमा महिला र पुरुष भनेर गरिने विभेद हट्दै गएको र समाजले महिला भनेर छुट्टै नजरले हेर्ने गरेको भन्दै त्यसरी छुट्टै नजरले हेर्न नपर्ने बताउँछिन् ।
(आगामी मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)
प्रतिक्रिया