काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) को नयाँ सीमा तोकेको छ। केन्द्रीय बैंकले गत आइतबार विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने सूचना जारी गर्दै खराब कर्जाको नयाँ सीमा तोकेको हो।
केन्द्रीय बैंकले यसअघि खराब कर्जाको सीमा ५ प्रतिशत तोक्दै आइरहेको थियो । तर, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा र निष्क्रिय कर्जा बढ्दै गएपछि नयाँ सीमा तोकेको हो । जसअनुसार केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थाले आफ्नो खराब कर्जा अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।
योसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ५ प्रतिशतभन्दा माथि पुगेको पनि स्वीकारेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको अनुपात ५ प्रतिशत भित्र रहेकोलाई मात्रै निक्षेप लिने बोलकबोलमा सहभागी हुने व्यवस्था थियो। नेपाल राष्ट्र बैंकले यस अघिसम्म खराब कर्जाको अनुपात ५ प्रतिशतलाई सामान्य मान्दै आए पनि हाल यसको सीमा ८ प्रतिशत पुर्याएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा पनि खराब कर्जा बढेको स्विकार्दै आइरहेका छन्। उनले अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक शिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोबल घटेका कारण खराब कर्जा बढेको धारणा सार्वजनिक फोरमबाट व्यक्त गर्दै आइरहेका छन्। कोरोना महामारीयता बैंकिङ्ग क्षेत्रले विभिन्न किसिमका चुनौती सामना गर्दै आइरहेको छ।
बैंकिङ्ग क्षेत्रमा बढ्दो खराब कर्जा र बढ्दो गैह्र बैंकिङ्ग सम्पत्तिले चुनौती थपिदिएको छ । केही समयअघि बैंकिङ्ग विज्ञहरूले पनि खराब कर्जाको अनुपात बढाउनुपर्ने माग गर्दै आएका थिए । विज्ञहरू र बैंकरहरुले खराब कर्जा र निष्क्रिय कर्जा बढ्दै गएकाले सीमा बढाउन निरन्तर दबाब बढाएपछि केन्द्रीय बैंकले सीमा बढाएको हो ।
४ बैंकलाई पुग्नेछ लाभ
केन्द्रीय बैंकको यो व्यवस्थाले खराब कर्जाले थिचिएर बसेका बैंकहरुलाई सहजता मिल्ने भएको छ । नेपाल राष्ट्रले यो व्यवस्था गरेपछि खराब कर्जा पाँच प्रतिशत माथि रहेका चार वटा वाणिज्य बैंकलाई फाइदा पुग्ने भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सन्राइज र प्रभु बैंक रहेका छन् । केन्द्रीय बैंकको यो व्यवस्थाले यी बैंकहरुलाई लाभ हुने देखिन्छ ।
केन्द्रीय बैंकले खराब कर्जा ५ प्रतिशतभन्दा माथि भएका बैंक वित्तीय संस्था पनि मुद्दती निक्षेप लिनका लागि हुने बोलकबोलमा सहभागी हुन पाउने भएसँगै यी चार वाणिज्य बैंकलाई फाइदा पुग्ने भएको हो । यता सञ्चालनमा रहेका छ वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात पनि ५ प्रतिशतको हाराहारीमा नै छ । ५ प्रतिशतको हाराहारीमा खराब कर्जा रहेको बैंकहरुमा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल बैंक र कृषि विकास बैंक, नेपाल बैंक रहेका छन् । यी बैंकहरुको खराब कर्जा अनुपात अनुपात ४.९० प्रतिशतभन्दा माथि रहेको छ ।
आफ्नो स्वार्थका लागी सीमा परिवर्तन
जानकारहरु भने यतिबेला केन्द्रीय बैंकले आफ्नो स्वार्थका लागि खराब कर्जाको सीमा हेरफेर गरेको आरोप लगाउन थालेका छन् । बैंकहरुसँग तरलता फालाफाल भएको समयमा बैंकहरुले केन्द्रीय बैंकको विभिन्न कोषमा रहेका निक्षेप लिनेहरू नहुँदा धेरै खराब कर्जा भएकालाई पनि सो निक्षेप लिन सहभागी गराउन चाहेको बैंकरहरुको बुझाइ छ । एक वाणिज्य बैंकका उच्च कर्मचारीकाअनुसार केन्द्रीय बैंकले यो समयमाभन्दा पनि तरलता अभावको समयमा बैंकहरुलाई यस्तो व्यवस्था प्रदान गर्नुपर्ने बताएका छन् ।
‘अहिले हामीसँग तरलता पर्याप्त छ बैंकहरुले राष्ट्र बैंकका कोषहरूमा भएका पैसा लिन चाहेका छैनन् त्यसो हुँदा केन्द्रीय बैंकले आफ्नो पैसा बैंकहरुमा राख्न यस्तो गरेको हो’ ती कर्मचारीले बैंकिङ्ग समाचारसँग भने । ती बैंकरले केन्द्रीय बैंकले बैंकहरुको हितका लागि यस्तो व्यवस्था गरेको भए खराब कर्जा ५ प्रतिशत भन्दामाथि भएका बैंकहरुले शाखा स्थापना गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया