बैंकिङ्ग समाचार, काठमाडौं ।
साञ्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । स्थानीय बासिन्दाले अब असोज ३० गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । यसअघि पनि कम्पनीले समय थप गरेर असोज ४ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । सो अवधिमा सबै कित्ता शेयर विक्री नभएपछि कम्पनीले पुनः समय थप गरेको हो ।
कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले रू. १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह–निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया