काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालको बाह्य क्षेत्रका परिसूचकहरुले आर्थिक गतिविधिमा सुधार हुँदै गएको जनाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै बाह्य क्षेत्रका सूचक सुधार भइरहेको जनाएको हो ।
‘विगत तीन वर्षदेखि सुस्त रहेको वाह्य व्यापार चालु आर्थिक वर्षमा विस्तारोन्मुख रहेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा वस्तु निर्यात ४६.५ प्रतिशतले र वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भएको छ ।’
वस्तु निर्याततर्फ मुख्यगरी सोयाविन तेल, पोलिस्टर धागो, ऊनी गलैंचा, लत्ताकपडा र अलैंचीको निर्यात उल्लेख्य वृद्धि भएको छ । अन्तिम उपभोग्य वस्तुको तुलनामा मध्यवर्ती तथा पूँजीगत वस्तुहरु जस्तै सवारी साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, स्पोन्ज आइरन आदिको आयात वृद्धि भएकोले समेत आर्थिक क्रियाकलाप विस्तारले गति लिने अनुमान छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भएको वृद्धिका कारण विप्रेषण आप्रवाह बढ्ने अनुमान रहेपनि बढ्दो आयातसँगै विदेशी विनिमय सञ्चिति क्रमशः उपयोग हुँदै जाने देखिएको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, विदेशी विनिमय सञ्चितिको विद्यमान स्रोत तथा खर्चका क्षेत्रहरुको विश्लेषणका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि शोधनान्तर बचत कायम रहने अनुमान राष्ट्र बैंकले गरेको छ ।



About Us
प्रतिक्रिया