धितोपत्र बोर्डले जारी गर्यो वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन


काठमाडौं – नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ अनुसार वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सो नियमको ६९ को उपनियम (३०) बमोजिम धितोपत्र बजार सहभागीहरुका लागि लक्षित गरेर यो मागर्दशन जारी गरेको हो ।

बोर्डले जारी गरेको मार्गदर्शनअनुसार नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको युनाइटेड नेशन स्याङसन लिस्टमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार सहभागीहरूले कारोबारको तथ्याङ्क (डेटाबेस) मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने छ ।

उक्त तथ्याङ्क (डेटाबेस) को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने छ । यस्तै, धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्ने छ ।

यसैगरी, मार्गदर्शनपछि आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्तिका सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने व्यवस्था समेत बोर्डले ल्याएको छ ।