सहकारीमा बेतिथिको चाङः निक्षेप उठाउने र भाग्ने प्रवृत्तिले समस्यै समस्या 

सहकारीमा बेतिथिको चाङः निक्षेप उठाउने र भाग्ने प्रवृत्तिले समस्यै समस्या 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
यतीबेला सहकारी संस्थाहरुमा बेतिथि मौलाएको छ । देशभर रहेका करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरुले गैर कानुनी रुपमा अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको हो । मुलुकमा रहेका केही सहरकारीहरुले आम जनमानसँग बचत उठाउने र भाग्ने प्रवृतिले सहकारीमा मात्रै नभई समग्र बैंकिङ्ग प्रणालीमै समस्या उत्पन्न गराएको छ । 

बचत गर्नेभन्दा पैसा झिक्नेको लाईन 

सहकारी संस्थाहरुले वाणिज्य बैंक र सहकारी बैंकमा पैसा राख्छन् । तर पछिल्लो समय सहकारीहरुले आफुले राखेको बचत सदस्यहरुले फिर्ता मागेपछि बैंकहरुबाट झिकेर बचतकर्ताको पैसा फिर्ता गर्न थालेका छन । सहरकारीहरुले बचतकर्ताकै पैसा लिएर भाग्न थालेपछि मुलुकका अधिकांश ग्राहकहरुले सहकारीमा बचत गरेको पैसा निकाल्न थालेको पाइएको हो ।  यता तरलताको अभाव भइरहेको बेला सहकारीहरुले पनि बैंकबाट धमाधम पैसा झिक्न थालेपछि बैंकहरुमा पनि एक किसिसमको दबाब सिर्जना भएको देखिन्छ । सहकारी संस्थाहरुमा बचतकर्ताले बचत फिर्ता माग्न थालेपछि सहकारीहरुले पनि बैंकहरुबाट धमाधम बचत झिक्न थालेका छन् । केही सहकारी संस्थाहरुमा समस्या सिर्जना भएपछि अन्यमा पनि समस्या आउने भन्दै बचतकर्ताहरुले धमाधम बचत फिर्ता लिएपछि सहकारीहरुले पनि बैंकहरुबाट पैसा झिक्न थालेका हुन् । 

यी हुन निक्षेपकर्ताको पैसा खाने सहकारीहरु ? 

कुलेश्वरस्थित गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको निक्षेपकर्ताको साढे ५ अर्बभन्दा बढी डुबेको छ। संस्थाका १ हजार ७५ जना सदस्यले निक्षेप डेढ अर्बभन्दा बढी निक्षेप फिर्ता नपाएको सहकारी विभागमा उजुरी दिएका छन्। एकै व्यक्तिको ७५ लाखसम्म निक्षेप डुबेको पाइएको छ। 

चन्द्रागिरिको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  श्रीकृष्ण महर्जनसहित ८ जना केही समयअघि पक्राउ परे। प्रहरी अनुसन्धानबाट १७ करोड ९४ लाख ७६ हजार रुपैयाँ बचत रकम हिनामिना गरेको खुलेको थियो। प्रहरीले अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

डिल्लीबजारस्थित स्मृति बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले ६ महिनादेखि निक्षेप फिर्ता पाउन सकेका छैनन्। कार्यालय बन्द गरी सञ्चालक सम्पर्कविहीन भएपछि निक्षेपकर्ता चिन्तित भएका छन्। संस्थाले ५ करोडको कारोबार गर्दै आएको छ । अध्यक्ष देवेन्द्र  श्रेष्ठलगायत सञ्चालकहरू सम्पर्कविहीन भएका हुन्। 

ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले जथाभावी लगानी गर्दा डुबेको छ । सहकारी ऐन, नियमावली विपरीत आफूखुसी रूपमा जग्गा तथा निजी व्यवसायमा लगानी गर्दा संस्था डुबेको हो। संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईले आफूखुसी लगानी गरेको र संस्थामा नगद देखाई उक्त रकम आफै चलाउने गरेको पाइएको थियो। 

काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताको बचत हिनामिना पारेको समाचार बाहिरिएको छ । 

बानेश्वरको अक्षता बचत तथा ऋण सहकारी संस्था पनि संकटग्रस्त बनेको छ। पीडितले ६ महिनादेखि पैसा फिर्ता पाएका छैनन्। २० जना सदस्यले केही समयअघि बौद्धस्थित सेवा केन्द्र कार्यालय घेराउ गरेका थिए। विगत तीन महिनादेखि अध्यक्षले २० जनाको एकमुष्ठ हिसाब गरी १ जनाको नाममा २६ लाख ९५ हजार चेक काटेर गत फागुनमा दिए पनि नसाटिएको पीडितहरू बताउँछन्। उनीहरूले चेक बाउन्समा मुद्दा दर्ता गरे पनि अझै प्रक्रिया अघि बढेको छैन।

केही दिनअघि काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच सोमबार भनाभन र विवाद भएको थियो । बचतकर्ताले सहकारी कार्यालयअगाडि नाराबाजी गरेका थिए ।  बचतकर्ताले भनेजति रकम कान्तिपुर सहरकारीले दिन सकेन जसका कारण बचतकर्ताले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको विरोध गर्दै आपत्ति जनाएका थिए । कान्तिपुर सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएका थिए । 

सदस्यबाटै सञ्चालक असुरक्षित भएपछि गृहसँग सुरक्षा माग
\"\"
केही दिनअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदान गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार नै गरेको छ ।  केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत भएको भन्दै सम्बन्धित सहकारी संस्थाले माग गर्दा सुरक्षा व्यवस्था मिलाउने आग्रह गरेको हो । ‘पछिल्ला दिनहरुमा केही सहकारी संस्थसंस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सरकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइ दिन अनुरोध छ,’ सहकारीमा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

राष्ट्रिय सहकारी विभागका पछिल्ला निर्देशन 

सहकारी विभागले पनि एकिकृत निर्देशन जारी गर्दै घरजग्गामा लगानी नगर्न निर्देशन दिइसकेको छ । समस्यामा परेका सहकारीलाई विभागले नगद लाभांश वितरणमा पनि रोक लगाएको छ । राष्ट्रिय सहकारी महासंघले समस्यामा परेका सहकारी संस्थाहरुलाई एक पटक ५ प्रतिशतभन्दा बढी बचत फिर्ता नगर्न निर्देशन दिइसकेको छ । सहकारी संस्थामा देखिएको समस्याको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि देखिन थालेपछि राष्ट्र बैंकले पनि अध्ययन थालेको छ । बैंकहरुले पनि सहकारीको समस्याको प्रभाव बैंकहरुमा पनि देखिन थालेको बताउन थालेपछि त्यसको यकिन प्रभाव बुझ्न राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले अध्ययन सुरु गरेकोसह–प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।  

\"\"