काठमाडौं – नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया दुई वर्षपछि पुनः अघि बढाएको छ । बोर्डमा अध्यक्षकारुपमा सन्तोषनारायण श्रेष्ठ आएसँगै द्रुतगतिमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाएको हो ।
नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठनबन्धन सरकारले श्रेष्ठलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने सर्तमा बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । सोहीकारण, बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हाल्न साथ श्रेष्ठले प्रक्रिया अघि बढाएका छन् ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका लागि पूर्व डेपुटी गभर्नर चिन्तामनी शिवाकोटी नेतृत्वको अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको छ । यो प्रतिवेदनलाई पूर्व अर्थसचिव डा. रामप्रसाद घिमिरेले अनुमोदन गरिसकेका छन् । त्यसको महिना दिन पनि नवित्दै उनको सरुवा समेत भइसकेको छ ।
सोही प्रतिवेदनमा टेकेर नयाँ स्टकको लाइसेन्स दिन बोर्डले तयारी थालेको हो । प्रतिवेदन अध्ययन गर्दै काम अघि बढाइएको बताइएको छ । पूर्व अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाएका थिए । उनले २०७९ असोज महिनामा यो प्रक्रिया अघि बढाएका थिए ।
तर, तत्कालिन समयमा सर्वोच्च अदालतमा यसबारे मुद्धा परेपछि प्रक्रिया रोकिएको थियो । तर, केही समयपछि रिट खारेज २०७९ चैतमा प्रक्रिया पुनः सुचारु भयो । त्यसक्रममा नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा आवेदन परेको छ ।
हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्च गरी ३ वटा आवेदन परेको थियो । यीमध्ये हिमालयन स्टक एक्सचेञ्जमा व्यवसायी दिपक भट्टको समेत लगानी छ । यहीआधारमा नयाँ स्टक एक्सचेञ्जको सम्भावना हिमालयनलाई रहेको बोर्ड निकस्थ बताउँछन् ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका लागि ५ अर्बको डिल भएको आरोप लाग्दै आइरहेको छ । सत्तापक्षमा रहेकाले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका सम्झौता नै गरेको भन्दै प्रतिनिधि सभाको संसदमा नै पटक पटक आवाज उठ्दै आइरहेको छ ।



About Us
प्रतिक्रिया