एभरेष्ट बैंक र पतंजली आयुर्वेदको को–ब्रान्डेड क्रेडिट कार्ड सुरुवात, पतंजलीका सामान किन्दा बीमासहित क्यासब्याक सुविधा

एभरेष्ट बैंक र पतंजली आयुर्वेदको को–ब्रान्डेड क्रेडिट कार्ड सुरुवात, पतंजलीका सामान किन्दा बीमासहित क्यासब्याक सुविधा


बैंकिङ्ग समाचार, काठमाडौं ।

एभरेष्ट बैंक र पतंजली आयुर्वेद प्रालि नेपालको को–ब्रान्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तिजको अवसरमा नयाँ दिल्ली, भारतमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् । 

यस कार्डबाट उपभोक्ताले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बिमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् भने सुरुवाती ३ महिनाको लागि इन्स्योरेन्स फि मा ५० प्रतिशत छुट हुनेछ । 

सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे । 

साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । यस कार्डबाट बैंक र पतंजलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुने बैंकको विश्वास छ ।

बैंकले हाल ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।