साताको सुन कारोबार: प्रतितोला २ हजार रुपैयाँले महँगियो सुन

साताको सुन कारोबार: प्रतितोला २ हजार रुपैयाँले महँगियो सुन


काठमाडौं – पछिल्लो केही समययता सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ । यो साता पनि सुनको मूल्य बढ्ने क्रम जारी नै रह्यो । समग्रमा याे साता सुनकाे मूल्य प्रतिताेला २ हजार रुपैयाँले बढ्यो ।

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको थियो । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, यो साता सोमबार र मंगलबार पनि सुनको मूल्य बढ्यो । 

सोमबार प्रतितोला  एक हजार चार सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले बढ्यो ।  मूल्य बढेसँगै सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा र मंगलबार १ लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार, सोमबार ,मंगलबार लगातार ३ दिनसम्म बढेको सुनको मूल्य बुधबार एकैदिन २७ सय रुपैयाँले घट्यो । त्यसदिन मूल्य घटेसँगै प्रतितोला १ लाख ६७ हजार पाँच सय रुपैयाँमा भएको थियो ।  

त्यस्तै, बिहीबार पुनः सुनको मूल्यमा वृद्धि देखियो । बिहीबार  प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढ्दै एक लाख ६९ हजार आठ सय रुपैयाँ पुग्यो । साताको अन्तिम कारोबार दिन प्रतितोला ४ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ७० हजार २ सय रुपैयाँ पुग्यो । गत साता सुनको मूल्यमा ५ हजार ३ सय रुपैयाँको वृद्धि देखिएकाे थियाे ।