नेपालको उर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धीमुलकः उर्जामन्त्री


काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धीमुलक रहेको बताएका छन् । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएपछि उर्जामन्त्री खड्काले बिहिबार साँझ त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालको उर्जा विकासको लागि आफ्नो भारत भ्रमण उपलब्धीमुलक रहेको बताएका हुन्।

‘भारत भ्रमणका क्रममा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने अवसर मिल्यो, उक्त भेटले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको महसुस भएको छ,’– मन्त्री खड्काले भने । मन्त्री खड्काले पञ्चेश्वर बहुउदेश्यीय आयोजनालाई अगाडि बढाउनेबारे एक हिसाबको सहमति अगाडि बढेको बताउँदै यसलाई प्रधानमन्त्रीस्तरीय बैठकबाट अन्तिम टुङ्गो लगाउनेबारे छलफल भएको उल्लेख गरे । उनले भारत भ्रमणका क्रममा नेपालसँग भएका ठूला आयोजनालाई सम्पन्न गर्नेबारे छलफल भएको बताए ।

उर्जामन्त्री खड्काले नेपाल र भारतबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको मोडालिटीबारे दुई देशबीचका सचिवस्तरको बैठकमा सहमति भएको बताए। उर्जा विकास मार्गचित्र, २०८१ ले राखेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्यलाई पुरा गर्न उक्त सहमति कोशेढुङ्गा सावित भएको मन्त्री खड्काको भनाई थियो । मन्त्री खड्काले उक्त सहमति मुलुक र उर्जा क्षेत्रको लागि ठूलो उपलब्धी भएको बताए ।

‘हामीले १० वर्षभित्र भारतमा १० हजार र बंगलादेशमा पाँच हजार मेगावाट विद्युत निर्यात गर्ने भनिरहेका छौँ, त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सहमति भएको छ, सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामीले भारत र बङ्गलादेशमा १७/१८ हजार मेगावाट विद्युत निर्यात गर्न सक्छौँ,’उनले भने ।

भारत भ्रमणका क्रममा बङ्गलादेशका उर्जामन्त्रीसँग पनि आफ्नो महत्वपूर्ण भेट र छलफल भएको मन्त्री खड्काले बताए । ‘हामीले जे उदेश्यका साथ बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने उदेश्य राखेका छौँ, त्यसलाई अगाडि बढाउने संकेत मिलेको छ, चाँडै नै यसले पनि मूर्त रुप लिन्छ,’ मन्त्री खड्काले भने ।

नेपालले सबै कुरा भारतकै सहयोग लिएर यसको विकास गर्ने भएका कारणले बंगलादेशतर्फ पनि प्रसारण लाईन बनाउने कुराको छलफल अगाडि बढेको मन्त्री खड्काले बताए । उनले उर्जा विकास मार्गचित्रको लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको ठूलो साथ र सहयोग आवश्यक रहेको बताए । उनले भारतको विद्युतमन्त्री चाँडो नेपाल आउने तय भएको समेत बताए ।

उर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको बताए । उनले दुई देशबीचको वाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समितिको वैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको बताए ।

मन्त्री खड्काले उर्जा सप्ताहमा कार्वन उत्सर्जन न्यूनीकरण गर्नका लागि उर्जाका नयाँ नयाँ प्रविधिको प्रयोग भइरहेको बताउँदै उक्त प्रविधिलाई नेपालले समेत प्रयोग गरेर शून्य कार्बन उत्सर्जनतर्फ जानुपर्ने धारणा राखे। पत्रकार सम्मेलनमा उर्जा सचिव सुरेश आचार्यले दुई वर्षदेखि टुंगोमा पुग्न नसकेको नेपाल–भारत अन्तरदेशीय प्रसारण लाईन गत कात्तिकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको भेटवार्ता पश्चात सम्भव भएको बताए ।

उनले नेपाल–भारत सचिवस्तरिय संयुक्त निर्देशक समितिको बैठकले दुई देशबीचको सहसचिवस्तरिय संयुक्त कार्यदलको बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको जानकारी दिए । बैठकले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाईनको क्षमता ८०० मेगावाटबाट एक हजार मेगावाट पु¥याउने सहमति भएको बताए ।

यस्तै, नेपालको चमेलियादेखि भारतको जौलजीवीसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर आगामी मार्चसम्म गर्ने र सन् २०२७ सम्म प्रसारण लाईन सम्पन्न गर्नेगरी दुबै देशले आ आफ्नो खण्डमा काम गर्ने सहमति भएको छ । नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण कार्य सन् २०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडको सेयर स्वामित्व रहनेगरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ ।

दुई देशबीचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत सेयर स्वामित्व अर्को देशको रहने व्यवस्था गरिएको छ । यस्तै, सन् २०३५ सम्ममा ४०० केभी निजगढ–मोतिहारी र कोहलपुर–लखनउ प्रसारण लाइन निर्माण सम्पन्न गरिने साथै ढल्केवर–मुजफ्फरपुरमा थप ४०० केभीको अर्के प्रसारणलाइन निर्माण गर्ने सहमति भएको सचिव आचार्यले बताए ।