काठमाडौं – दुई साताअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सिंहदरबार डाकेर नाफा बढाउन निर्देशन दिए । अर्थमन्त्री पौडेलले सरकारी बैंकका हाकिमलाई आफ्नै कार्यकक्षमा डाकेर जसरी पनि नाफा बढाउन निर्देशन दिए । यो निर्देशनको यतिबेला यत्रतत्र चर्चा छ ।
त्यो निर्देशन सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाका लागि सही भएपनि कर्मचारी भने तनावमा परेका छन् । बैंक स्थापना र सञ्चालनको लक्ष्य नै सर्वसाधारणलाई सेवा प्रवाहसँगै नाफा आर्जन हो । तर, सरकारी बैंकका कर्मचारीलाई भने यो दबावका रुपमा अघि आएको छ । हुन त कर्मचारीले अर्थमन्त्रीको निर्देशन टेर्ने होइनन् । यद्यपि, कार्यकक्षमा नै बोलाएर महसुस हुने गरी सरकारी लगानीका बैंकको नाफा बढ्नु पर्ने भनेपछि दबाब सृजना भइहाल्छ ।
यतिबेला बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी खुम्चिएको स्थिति छ । यो विषयमा राम्रोसँग जानकार अर्थमन्त्री पौडेलले कर्जा लगानी बढाउन सरकारी बैंकहरूलाई निर्देशन दिएसँगै सरकारी बैंकरहरुमा तनाव सिर्जना हुन पुगेको हो । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले खराब कर्जा घटाउँदै लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।
अर्थमन्त्रीले यति कुरामा मात्रै बैठक सीमित राखेनन् । उनले सरकारी बैंकहरुले पनि नाफामा जोड दिनुपर्ने समेत बताएका थिए। उनले रणनीतिक योजना नै बनाएर उचित प्रतिफल आउने गरी काम गर्न निर्देशन दिए । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसहित सरकारी वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले सहजीकरण गर्ने पनि बताए ।
अर्थमन्त्री पौडेलले सार्वजनिक फोरमहरूमा पनि बैंकहरुले नाफा कमाउनुपर्नेमा जोड दिँदै आएका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकको वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारी बैंकले पनि नाफा कमाउनुपर्ने बताए । उनले बैंकको प्रगतिको लागि कर्मचारीका लाग्नुपर्ने भन्दै बैंकको देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका रहेको पनि दाबी गरेका छन् । उनले सरकारले बैंकहरुको समस्या एकएक गरेर समस्या समाधान गर्नेतर्फ लागेको बताए ।
यता बैंठकमा उपस्थित रहेका वाणिज्य बैंकका प्रमुखहरूले पनि अर्थमन्त्रीले उठाएका विषयलाई ध्यानमा राखेर काम गर्ने बताएका थिए । उनीहरूले कर्जा असुलीमा समस्या रहेको भन्दै पुँजीको वृद्धि र लगानी विस्तारका लागि केन्द्रित हुने बताए । यता अधिकांशले सरकारले सरकारी बैंकहरुलाई पनि नाफामा जोड दिन निर्देशन दिँदा सेवास्तर र व्यावसायिक दक्षता पनि प्रभावित हुने धारणा व्यक्त गर्दै आएको पाइन्छ । अर्थमन्त्रीको निर्देशनसँगै बैंकमा कसरी लगानी बढाउने भनेर छलफल सुरु भइसकेको बुझिएको छ ।
कर्मचारी भन्छन्, फेरि तनाव थपियो
बैंकरहरू कार्यरत संस्थाको नाफा वृद्धिमा दबाब सिर्जना हुँदा कार्यसम्पादनमा असर पर्ने बताउँछन् । बैंकरलाई नाफा बढाउन निर्देशन दिँदा नाफा बढाउने लक्ष्यसहित दबाबपूर्ण काम गर्नुपर्ने बाध्यता आइपर्छ जसले बैंकरलाई चिन्ता थप हुने गर्दछ । नाफा बढाउन निर्देशन दिने क्रममा बैंकरहरूलाई तनाव यसै बढ्छ ।
एक सरकारी बैंकमा कार्यरत एक कर्मचारीले सरकारी बैंकले निजी बैंकको जस्तै नाफा खोजेको आरोप लगाए । उनले सरकारी बैंकले निजी बैंकसँग अन्य विषयमा प्रतिस्पर्धा नगरे पनि नाफा आम्दानी भने निजी बैंकको जस्तै चाहेको बताएका हुन् । ‘बैंकभित्रका आन्तरिक र बाह्रय विषयमा ध्यान नदिएर नाफामा मात्रै ध्यान दिएको जस्तो देखिन्छ,’ ती कर्मचारीले बैंकिङ्ग समाचारसँग भने, ‘पहिले पनि हामीलाई नाफा गर्नुपर्छ भनेर बोर्ड र व्यवस्थापनबाट दबाब त आइरहेको नै हो ।’ तर, पछिल्लो समय अर्थमन्त्रीले नै मुख खोलेर नाफा बढाउन भनेपछि भने तनाव बढेको छ ।
प्रतिक्रिया