बैंकमाथि भइरहेको भ्रामक प्रचारप्रति विप्रेषक संघको ध्यानाकर्षण, कानूनी दायरामा ल्याउन माग


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरु प्रतिको भ्रामक प्रचार प्रति नेपाल मुद्रा विप्रेषक संघले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ । आज एक विज्ञप्ती जारी गर्दै संघले बैंकहरुमाथि भइरहेको गलत प्रचारबाट ध्यानाकर्षण भएको जनाएको हो ।

‘बैंक तथा बित्तिय क्षेत्रलाई खलबलाउन भैरहेको अराजक गतिविधीहरु र सामाजिक संजालहरुमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बिरुद्ध सर्वसाधारणलाई भ्रमित पार्ने कार्यहरु र गलत अभिव्यक्तिहरु आइरहेको प्रति ध्यानाकर्षण भएको छ,’ संघले उल्लेख गरेको छ ।

संघले बैंक तथा बित्तिय संस्थाहरुले सरकारको आधिकारिक निकाय नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरु तथा दिशानिर्देशहरूको परिपालना गरिरहेको समेत जनाएको छ । सोहीकारण, गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन सर्वसाधारणलाई संघले आग्रह गरेको छ ।

यसको साथै, आम सर्वसाधारणहरुलाई भ्रमित पार्ने, गलत सूचना र आपत्तीजनक अभिव्यक्ति दिने र सर्वसाधारणहरुलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने मौलिक अधिकारबाट वञ्चित गराउन उत्प्रेरणा दिनेलाई कानूनको दायरामा ल्याई समेत संघले माग गरेको छ । यसका लागि सम्बन्धीत निकायले काम गर्नुपर्ने संघको भनाई छ ।