लक्ष्यअनुरूप बजेट खर्च नभएपछि संशोधन गर्दै सरकार, आकार र राजश्व लक्ष्य घट्दै


काठमाडौं – अर्थमन्त्रालयको संयन्त्र चालू आर्थिक वर्ष २०८१/८२ को बजेट संशोधनमा जुटेको छ । जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले पेश गरेको लक्ष्यअनुरुपमको बजेट खर्च गर्न नसकिने निष्कर्षसहित संशोधनमा जुटेको हो । यतिबेला धमाधम बजेटको आकार संशोधनको काम भइरहेको अर्थमन्त्रालय निकट स्रोतले जानकारी दियो ।

तत्कालीन अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ आकारको बजेट प्रस्तुत गरेका थियो । यो बजेट पुन अघिका अर्थमन्त्री अर्थात् डा. प्रकाश शरण महतले तयार पारेका थिए । महतले तयार पारेको बजेट प्रस्तुत गर्न सत्ता समीकरणको परिवर्तनसँगै पुन आएका थिए । पुनले प्रस्तुत गर्नसाथ असारमा सत्ता समीकरण फेरी बदलिएपछि कार्यान्वयनका लागि वर्तमान अर्थमन्त्री पौडेल छन् । बजेट तयार पार्दा सत्ता समीकरणमा नेपाली काँग्रेस र नेकपा माओवादी थिए ।

यस्तै, बजेट प्रस्तुत गर्दा नेकपा एमाले र नेकपा माओवादी सत्ता साझेदारी गरिरहेका थिए । हाल दुई ठुला राजनीतिक दलहरू नेपाली काँग्रेस र नेकपा एमालेको शक्तिशाली सत्ता छ । यो सरकारले पनि लक्ष्यबमोजिम बजेट कार्यान्वयन गर्न सक्ने स्थिति छैन । ‘जति नै शक्तिशाली सरकार बने पनि नेपालको बजेट खर्च गर्ने संयन्त्र नै गिजोलिएको छ,’ मन्त्रालय स्रोतले भन्यो । यस्तै, अर्धवार्षिक अवधिसम्म सङ्कलन भएको राजश्वको अनुपात हेर्दा लक्ष्यबमोजिम नउठ्ने पक्कापक्की भइसकेको छ ।

सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजश्व उठाउने लक्ष्य तय गरेको छ । तर, महालेखा नियन्त्रकको कार्यालयअनुसार आजसम्म लक्ष्यको ३८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । आजसम्म विकास खर्च १८.१६ प्रतिशत छ भने चालू खर्च ४३ प्रतिशतभन्दा बढी छ । यता राजश्व सङ्कलन लक्ष्यको ४१.७५ प्रतिशत उठेको छ ।

यिनै तथ्याङ्कलाई मध्यनजर गर्दै अर्थमन्त्रालयले बजेटको आकार र राजश्व लक्ष्य संशोधन गर्ने भएको हो । यतिबेला मन्त्रालयको सिङ्गो संरचना अर्धवार्षिक संशोधनमा केन्द्रित भएको छ । अर्थ सचिव रामप्रसाद घिमिरेले पनि अर्धवार्षिक समीक्षा भइरहेको बताए ।