यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख राजस्व सङ्कलन


जुम्ला – जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार रुपैयाँ , चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख रुपैयाँ ३५ हजार र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।