जग्गा बिक्रीमा समस्या आउँदा अर्थतन्त्रमा नै चुनौती : अर्थमन्त्री पौडेल 


काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जग्गा बिक्रीमा समस्या आउँदा अर्थतन्त्रमा नै चुनौती देखा परेको बताएका छन् । महिला आर्थिक पत्रकार संघको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले पछिल्लो समय जग्गा बिक्रीमा समस्या देखिँदा अर्थतन्त्रले चुनौती झेल्नु परेको बताएका हुन् । 

अर्थमन्त्री पौडेलले भने,‘बैंकको केही हिस्सा लगानी जग्गामा छ। यसको समस्या समाधान तत्काल खोज्न आवश्यक छ ।’ उनले सरकारले अर्थतन्त्रको समस्या समाधानका लागि पोलिसी रिफर्ममा ध्यान दिएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका बाह्य सूचक राम्रो रहे पनि केही समय अघिदेखि अर्थतन्त्र दबाबमा रहेको बताए । उनले पुँजीगत खर्च किन बढेन भनेर बुझ्न सरकार अघि बढेको बताएका छन् । उनले पुँजीगत खर्च बढाउनु पर्ने आवश्यकता रहेको उनकाे धारणा छ।  

अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा भने अर्थतन्त्रमा केही सुधार भएको बताए । उनले निर्माण व्यवसायीको भुक्तानीका विषयमा धेरै कुराहरू उठ्दै आएको भन्दै सरकारले कानुनसम्मत ढङ्गले दाबी गरेको भुक्तानी हुँदै आएको बताए ।