सिरहा – सिरहाको ठाडी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । यस भन्सार कार्यालयलाई आव २०८१/८२ मा चार करोड २३ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा पुस मसान्तसम्म दुई करोड पाँच लाख ६९ हजार लक्ष्य तोकिएको थियो ।
तर, छ महिनाको यस अवधिमा कार्यालयले एक करोड ७१ लाख ४५ हजार मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको करिब ८४ प्रतिशत हुन आउँछ ।
कार्यालयका भन्सार अधिकृत मुकेशकुमार पाठकका अनुसार अपेक्षित राजस्व सङ्कलन हुन नसक्नुमा सिरहा जिल्लामा ‘खाद्य तथा प्लान्त क्वारेन्टाइन’ नहुनु हो । उनले भने, ‘यस जिल्लामा दुईवटा मूल भन्सार र एउटा छोटी भन्सार कार्यालय रहेका छन् । तर जिल्लामै खाद्य तथा प्लान्ट क्वारेन्टाइन नहुँदा खाद्य सामग्रीको भन्सार जाँजपास हुन सकेन र अपेक्षित राजस्व सङ्कलन पनि हुँन नकेन ।’
भन्सार अधिकृत पाठकले प्लान्ट क्वारेन्टाइन कार्यालयको अभावमा चोरी निकासी तथा पैठारी हुने गरेको भन्दै खाद्य सामग्रीलाई वैधानिक रुपमा भन्सार जाँचपास प्रक्रियामा ल्याउन सके राजस्व सङ्कलन दुई गुणाले बढ्ने दाबी गरे । सम्बन्धित मन्त्रालय तथा विभागमा पटकपटक पहल गरिए तापनि सुनुवाइ हुन नसकेको उनले जानकारी दिए ।






About Us
प्रतिक्रिया