काठमाडौं – तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता)को दोस्रो संस्करण सुरु भएको छ । प्रतियोगिता आज बुधबार जगडोलस्थित गेटवे एड्भेन्चर हबमा सुरु भएको हो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले भने, ‘आज मैले तेन्जिङ नोर्गे शेर्पाको नाम लिन पाउँदाखेरि एकदमै खुसी लागेको छ । नेपालमा यस्ता कार्यक्रमलाई मैले महत्त्वपूर्ण ठानेको छु। नेपाललाई माउन्टेन कन्ट्री भनेर चिन्छन्। त्यसकारण हामी नै यसमा मलाई इन्ट्रेस्ट छ।’
आयोजकलाई नगरपालिकाको पनि साथ रहेको रिसालले बताए । हाम्रो नगरपालिकास्थित सहिद पार्कमा आरोहण सम्बन्धित क्लाइमिङ वाल बनाउन चाहेमा नगरपालिकाको पनि साथ रहने उनले बताए ।
यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको लागि जनवरी १५ देखि २५ तारिखसम्म आवेदन खुल्ला गरिएको थियो । जसमा ५० भन्दा बढीले सहभागिता जनाएका छन् । यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता यही आज (माघ १६ र १७ गते) सम्म हुनेछ ।

प्रतियोगितामा नियमानुसार १२ वर्षभन्दा माथिकाले सहभागिता जनाएका छन् भने प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला र पुरुषले क्रमशः ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको टाइटल स्पोन्सरः हेली एभरेस्ट, ग्रोल्ड स्पोन्सरः सेभेन समिट ट्रेक, सिल्भर स्पोन्सरः हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन, एभरेस्ट शेर्पा फाउन्डेसन, ब्रन्ज स्पोन्सरःआम डब्लम बेस क्याम्प लज रहेका छन् ।
प्रतिक्रिया