गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र


भरतपुर – भरतपुर महानगरपालिका– १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र रूपमा अघि बढेको छ। महानगरले संघ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रंगशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो।

महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल १५० मजदुरले दैनिक काम गरिरहेका छन्। दुई दिनपछि कामदार थप गरी २१० पुर्‍याइने जनाउँदै उनले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरूप कामलाई तीव्र बनाइएको बताए। प्यारापिट ढलानका लागि डण्डी बाँध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेको इन्जिनियर आचार्यले जानकारी दिए। उनले भने, ‘हामीले १५ प्रतिशत हाराहारी काम गरेका छौँ। बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ। हालसम्म निर्माण कम्पनीलाई ६ करोड ६० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ।’

महानगर प्रमुख दाहालले भनिन्, ‘दुई महिनाअघि अर्थ मन्त्रालयमा फाइल पुगेको छ। अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ। केही दिनमा बजेट निकासा हुने आश्वासन पाएकी छु।’ प्रदेश र संघीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उनले बताइन्।

आर्थिक अभावका कारण धुर्मुस–सुन्तली फाउन्डेसनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माण अगाडि बढाएको हो। रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीले दुईवटा भिआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पिच निर्माण सुरु गरेको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले यसअघि पाँच हजार क्षमताको प्यारापिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले जानकारी दिए। गत असार २३ गते ७८ करोड ५० लाख रुपैयाँमा ३० महिनाभित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबिच सम्झौता भएको थियो। सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ। रंगशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ खेल्न सकिनेछ।महानगर प्रमुख दाहालले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रंगशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताइन्।