घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा


त्रिशूली- जिल्लाको पञ्चकन्या गाउँपालिका-४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। जिल्लाको मध्यविन्दु एवं संघीय राजधानी काठमाडौंबाट ३६ किलोमिटरको दूरीमा रहेको घ्याङस्वारा दुई हजार दुई सय मिटर उचाइमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृश्यको अवलोकनका लागि अहिले हिउँदयामको समयमा पर्यटकको आगमन बढेको हो। उक्त स्थानमा अहिले दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकको आगमन भइरहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले जानकारी दिए। उनका अनुसार पञ्चकन्या गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बुट्यान(झाडी हटाएर धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा आवश्यक संरचना निर्माण गरिरहेको छ।

‘पर्यटकलाई आकर्षित गर्न आवश्यक संरचनासहित भूमेदेवी मन्दिर व्यवस्थापन, खेलमैदान, घरवास ९होमस्टे० निर्माण गरेसँगै नुवाकोटसहित आसपासबाट वनभोज, घुमफिर र विभिन्न औपचारिक कार्यक्रममा आउने दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आइरहेका छन्,’ अध्यक्ष तामाङले भने, ‘स्थानीय कृषि उपजको उपभोग, खरिद–बिक्रीसहित आर्थिक गतिविधि पनि चलायमान बनेको छ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमसहित उक्त स्थानमा गाउँपालिकाले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सहिदको सालिकसहित पार्क निर्माण र पालिकावासीको श्रमदानबाट चियाका बिरुवा रोपण गरेको छ। उपत्यकाका रूपमा रहेको उक्त स्थानमा हरियाली चियाबगान, पानी, बत्ती, शौचालय, निःशुल्क इन्टरनेट, फोटो भिडियो बनाउन चाहनेलाई आकर्षक किसिमले तयार गरिएका ‘सेल्फी प्वाइन्ट’ले घ्याङस्वारा पुग्नेको मन लोभ्याउने स्थानीय पुरुषोत्तम खड्काले बताए।

पछिल्लो पाँच वर्षमा नुवाकोटको उत्कृष्ट गन्तव्यका रूपमा पर्यटकको रोजाइमा घ्याङस्वारा पर्न थालेको खड्काले उल्लेख गरे। ‘आन्तरिक पर्यटकको आगमन बढेसँगै यसको प्रचारप्रसार पनि भइरहेको छ। काठमाडौंबाट नजिकै पर्ने भएकाले खुला स्थानको खोजीमा रहेकालाई यहाँ आउन, खाजा तथा खाना स्थानीय कृषि उपजको व्यवस्थासहित होमस्टे सञ्चालनमा छन्। साथै स्थानीय उब्जनीको बिक्री बढ्नुका साथै घरवास र होटेलको आम्दानी पनि बढ्दै गएको छ,’ उनले भने।

गाउँपालिकाले सरकारी लगानीमा घरवास निर्माण गरी सञ्चालनमा ल्याएको अध्यक्ष तामाङले जानकारी दिए। ‘निजी क्षेत्रबाट पनि आकर्षक होटेल तथा रेस्टुरेन्ट र घरवासको निर्माण भइरहेका छन्। गाउँपालिकाले घरवास सञ्चालन र पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएको छ। स्थानीयलाई आर्थिक उपार्जनमा केन्द्रित गराउन यसबाट टेवा पुगेको छ,’ उनले भने ।

एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको घ्याङस्वाराको उचाइ एक हजार सात सयदेखि दुई हजार दुई सय मिटरसम्म रहेको भन्दै यसलाई खुला उपत्यकाका रूपमा चिनिएको अध्यक्ष तामाङले बताए। उच्च स्थानमा रहेको भूमेस्थान गणेश मन्दिर पुग्ने पदमार्ग चियाबगानको मध्यविन्दुबाट बनाइएकाले घुमफिरसहित हिन्दु र बौद्धमार्गीको तीर्थस्थलका रूपमा यसको महत्त्व बढेको उनको भनाइ छ।

पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्ज्याङसम्म कालोपत्रेसहितको व्यवस्थित सडक भए पनि करिब पाँच किलोिमटर ग्रामीण सडक भएकाले उक्त स्थानमा व्यवस्थित सडकसहित थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले संघीय सरकारसँग सहयोगका लागि अनुरोध गरिरहेको अध्यक्ष तामाङले उल्लेख गरे।

सोहीअनुसार निर्माणाधीन खेलमैदानलाई बहुउद्देश्यीय रंगशाला बनाउने परिकल्पनासहित पूर्वाधार निर्माणमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चासो देखाएको तामाङले बताए। पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै गएको घ्याङस्वारामा गाउँपालिकाले गरेको परिकल्पनामा थप पूर्वाधार निर्माणसहित व्यवस्थित सडक, भूमेस्थान मन्दिरको जगेर्ना एवं खेलमैदानलाई बहुउद्देश्यीय रंगशाला निर्माणमा आफूले पहल गर्ने कांग्रेसका प्रवक्ता डा.महतले प्रतिबद्धता जनाएका थिए।

नुवाकोट र यस आसपास जिल्लाका हिमशृंखला अवलोकनसहित मनोरम वातावरणमा रमाउन सकिने भएकाले यहाँका संरचना व्यवस्थित बनाउने परिकल्पनालाई पूर्णता दिन आगामी आर्थिक वर्षमा आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएको अध्यक्ष तामाङले जानकारी दिए।

‘सबैभन्दा उच्च स्थान (दुई हजार दुई सय मिटर) को थाप्लोमा रहेको भूमेस्थान गणेश मन्दिर, निर्माणाधीन खेलमैदान, उक्त स्थान पुग्नलाई बाँकी रहेको सडक कालोपत्र र सोही ठाउँबाट दुप्चेश्वरको गोल्फुभञ्ज्याङ हुँदै सिन्धुपाल्चोकलाई जोडेर सडक निर्माणमार्फत पर्यटकीय मार्ग निर्माणको योजनालाई पूर्णता दिन पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रबाट बहुशीर्षकमा बजेटको सुनिश्चित गर्ने प्रतिबद्धता प्रवक्ता डा। महतले गरेका छन्,’ अध्यक्ष तामाङले भने। पर्यटन प्रवर्द्धनका लागि नुवाकोटमा ककनी, सूर्याचौर, शिवपुरी निकुञ्जका साथै पछिल्लो समय घ्याङस्वाराबाट पनि लाभ लिन थालिएको स्थानीय बताउँछन्।