पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ: मन्त्री पाण्डे  

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ: मन्त्री पाण्डे  


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका हुन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि  तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए । 

मन्त्री पाण्डे भने, ‘पर्यटन क्षेत्रका समस्या देखि एयरलाइन्स सम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दै छौँ,त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ। पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकायहरू त्यहाँ गएपछि दुई वटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन् ।’ 

उनले  पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेको र नागरिक उड्डयन सम्बन्धी विधेयक मन्त्रीपरिषद्ले पास गरिसकेको जानकारी गराए । मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सीमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे । 

समिति सभापति राज किशोर यादवको अध्यक्षमा भएको 

बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपाल,सांसदहरू प्रभु साह,दामोदर भण्डारी,शिशिर खनाल,सुदन किराँती,सुनिता बरा,भीमप्रसाद आचार्य लगायतले मन्त्रालयको आव ०८१/०८२ को कार्य प्रगति र नीतिसम्बन्धी विषयमा सक्रिय रूपमा छलफल गरेका थिए ।