स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री

स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री


स्याङ्जा – यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रूपैयाँभन्दा बढीकोको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामाएक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रूपैयाँ भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपर जोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

उत्पादनमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताइन् । उत्पादित सुन्तला थोक मूल्यमा प्रतिकेजी ५६ रूपैयाँका दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ । चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिइन् । गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो ।

गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उनले जानकारी दिइन् । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपर जोन घोषणा हुनु पूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपर जोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उनले बताइन् ।

विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५/७६ को सुरुवातसँगै स्याङ्जालाई सुपर जोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपर जोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपर जोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ थापा थोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्ष मात्र पाँच करोड रूपैयाँका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपर मार्केटलगायत व्यावसायिक संघसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम २५ रूपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म कायम भएको छ ।

तुलनात्मक रूपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उनले बताए । उनी जिल्लाकै अगुवा सुन्तला किसान हुन्। उनी एक्लैले सुन्तला बेचेर गरेर वार्षिक ६० देखि ७० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेती विस्तार भएको छ । पुतली बजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधी खोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन्।