अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : गभर्नर  अधिकारी

अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : गभर्नर  अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचअनुरूपको प्रगति नभएको बताएका हुन् ।

गभर्नर  अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्‍याएको छ।’ अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् । २०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठुला भएका छन् ।

‘सिमेन्ट, रडजस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ,’ उनले थपे । गभर्नर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे ।

गभर्नर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ । उनले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए । ‘ठ्याक्कै जादुको छडीजस्तो केही छैन । योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ’, गभर्नर अधिकारीले भने । अधिकारीले पत्रकारहरूलाई तथ्यमा आधारित र अनुसन्धानमूलक समाचार लेख्न आग्रह गरेका छन् । उनले गलत सूचनाका कारण जनतामा नकारात्मक धारणा बनिरहेको भन्दै जिम्मेवारीपूर्वक लेख्नुपर्नेमा जोड दिए ।

अधिकारीले पत्रकार र राष्ट्र बैंकबीच सहकार्य आवश्यक रहेको भन्दै कार्यक्रम आयोजना गर्नुअघि परामर्श गर्न सकिने बताए । ‘हामी तपाईँहरूको नजिक छौँ। टाढा रहँदैनौँ। कुनै कार्यक्रम गर्न लाग्नुभएको छ भने हामीलाई पनि भन्न सक्नुहुन्छ,’ उनले भने । यस भेटघाटमा अधिकारीले राष्ट्र बैंकसँग सम्बन्धित विषयमा गहन जानकारी राख्नुपर्ने आवश्यकता पनि व्यक्त गरे ।