विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने

विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने


काठमाडाैं – सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणको  काम गरिरहेको बताए।

नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवमा अवसरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र यसलाई चाँडै पूर्णता दिने बताए। उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ मा ११ लाख ४७ हजार २४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। डिसेम्बरमा मात्रै ८९ हजार सात सय ६५ पर्यटक आएका छन्। यो आज बिहानसम्मको तथ्याङ्क हो। थप एक दिनको जोडेर यो वर्ष ११ लाख ५० हजार हाराहारीमा विदेशी पर्यटकको सङ्ख्या पुग्ने बोर्डको विश्वास छ। यसअघि सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार पर्यटक आएका थिए।

पर्यटनमन्त्री पाण्डेले नेपालको मौलिक पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश भएको बताउँदै उनले यही विविधताका बीच एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता रहेको धारणा राखे।