बैंकिङ्ग समाचार ।
चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि पुससम्मको ६ महीनाको अवधिमा नेपालले आठ दातृ निकायबाट ५१ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोग प्राप्त गरेको छ ।
उक्त ऋण सहयोग एशियाली विकास बैंक (एडीबी), विश्व बैंकजस्ता दातृ निकायका साथै भारत, चीन, जापानलगायतका देशबाट सरकारलाई प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको हो ।
चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी विश्व बैंकबाट रू २१ अर्ब २ करोड ऋण सहयोग प्राप्त भएको छ । त्यसपछि एडीबीबाट रू १४ अर्ब १८ करोड र आईएफएडीबाट रू ७ करोड प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ ।
यस्तै विभिन्न देशबाट उपलब्ध ऋण सहयोगमध्ये सबैभन्दा बढी जापानबाट रू ५ अर्ब ९६ करोड आएको छ । यसबाहेक चीनबाट रू ५ अर्ब ५६ करोड र भारतबाट रू ४ अर्ब १७ करोड प्राप्त भएको छ ।
चालू आवमा सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंक, एडीबी, यूरोपेली संघ (ईयू) लगायत विभिन्न दातृ निकायसँग झन्डै ९३ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायताका लागि सम्झौता गरिसकेको छ ।
त्यसमध्ये एडीबीसँग ४० अर्ब ४५ करोड, विश्व बैंकसँग ३५ अर्ब, ईयू, नर्वे र अमेरिकासँग रू. ११ अर्ब १४ करोड, साउदी अरबसँग ३ अर्ब, स्वीट्जरल्यान्डसँग १ अर्ब, जापानसँग ९४ करोड रुपैयाँ वैदेशिक सहायताका लागि सम्झौता भइसकेको स्रोत बताउँछ ।
कहाँबाट कति रकम भित्रियो ?
दातृ निकाय रकम
विश्व बैंकः रू. २१ अर्ब २ करोड
एडीबीः रू. १४ अर्ब १८ करोड
आईएफएडीः रू. ७ करोड
जापानः रू. ५ अर्ब ९६ करोड
चीनबाटः रू. ५ अर्ब ५६ करोड
भारतः रू. ४ अर्ब १७ करोड
कुल सहयोग प्राप्तः ४८ अर्ब ७८ करोड
स्रोतः महालेखा नियन्त्रकको कार्यालय
प्रतिक्रिया