काठमाडौं – बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले सरकारी बैंकहरुको सञ्चालकमा नै बैंकिङ्ग क्षेत्रबारे अनविज्ञ व्यक्ती आउने गरेको आरोप लगाएका छन् । संस्थामा कार्यरत कर्मचारीहरूले सरकारले जागिर खुवाउने थलोका रूपमा सरकारी बैंकलाई प्रयोग गर्ने गरेको बताएका हुन् ।
जागिर खाने र खुवाउने अखडाका रूपमा सरकारी बैंकलाई राजनीतिज्ञले प्रयोग गर्दा बैंकिङ्ग क्षेत्रबारे पूर्णरुपमा अनविज्ञ व्यक्ती सञ्चालकका रूपमा आउने गरेका छन् । नेपाल बैंकका कर्मचारीहरुले बैंकिङ्ग नबुझेको सञ्चालक हुँदा वित्तीय क्षेत्र नै जोखिममा पर्ने भन्दै बुझेका बैंक सञ्चालकको आवश्यकता रहेको बताएका हुन् । बैंकिङ्ग क्षेत्र विशेष क्षेत्र भएकाले आर्थिक नीतिहरू, जोखिम व्यवस्थापन, वित्तीय उत्पादन र कानूनी मुद्दाहरूको विषयमा राम्रो बुझाई भएका व्यक्तिले सञ्चालकको जिम्मेवारी पाउनुपर्ने हो ।
बैंकको बोर्डले यस क्षेत्रबारे पूर्णरुपमा नबुझ्दा ‘कोर बैंकिङ्ग सिस्टम’ सुचारु गर्न नसकेको नेपाल बैंकका कर्मचारीले बताउँदै आएका छन् । बैंकहरुले क्रेडिट जोखिम, बजार जोखिम र सञ्चालन जोखिमको सामना गर्नुपर्ने हुन्छ । बैंकको बारेका ज्ञान भएको सञ्चालकहरू जोखिम व्यवस्थापनमा सक्षम हुने र बैंकलाई उचाइमा पुर्याउन सहयोग गर्ने कतिपयको बुझाई छ ।
नेपालको बैंकिङ्ग क्षेत्र नियामक निकायबाट कडा निगरानीमा छ । कुनैपनि बैंकिङ्ग बुझेको सञ्चालक बैंकमा हुने हो भने नियमभित्र रहेर काम गर्न सक्छ । बैंक सञ्चालकले नियम बुझेर सोहीअनुरूप बोर्डलाई काम गर्न निर्देशन दिँदा बैंकहरुले गर्ने गल्तीहरू कम हुन्छ । जसले, नियामक निकायबाट गर्ने कारबाहीलाई पनि कम गराउँछ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोविन्द प्रसाद सुवेदी बैंकमा विभिन्न समस्याहरू रहेको भन्दै बैंकिङ्ग बुझेको सञ्चालक बैंकमा आवश्यक रहेको बताए । ‘नेपाल बैंकको बोर्ड र व्यवस्थापन एक आपसमा मिलेर गर्ने गरेको कामहरू पछिल्लो समय केही छैनन्,’ उनले नेपाल बैंककाे वार्षिकउत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै भने, ‘अर्थ मन्त्रालयलाई के भन्न चाहन्छु भने जागिर खाने ठाउँ मानेर सञ्चालक नपठाउनुहोला ।’ उनले बैंकलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको भन्दै पहिले सञ्चालकहरूलाई जागिर खाने ठाउँको रूपमा प्रयोग गरे पनि अबका दिनमा त्यस्तो नगर्न भने ।
यता बैंकका व्यवस्थापन भने बैंकका सञ्चालकले बैंकिङ्ग बुझ्न जरुरी नरहेको बताउँछन् । नबिल बैंकका एक उच्च पदस्थका कर्मचारी बैंकका सञ्चालकहरूले बैंकिङ्ग बुझ्नैपर्छ भन्ने नरहेको बताउँछन् । उनले बोर्डले सबै टेक्निकल विषय बुझ्न जरुरी नभएको भन्दै भिजन दिने काम बोर्डको भएको बताए । ‘संस्थालाई संस्थागत सुशासन भित्र राख्ने काम बोर्डको हो’ उनले भने ।
‘केन्द्रीय बैंक बोर्ड नै गैह्रबैंकिङ्ग छन्’
राष्ट्र बैंकमा समेत पनि बैंकिङ्ग नबुझेको सञ्चालक रहेको कतिपयले दाबी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका एक पूर्व गभर्नर अगुवाहरूका कारण बैंकिङ्ग क्षेत्रमा नबुझेका सञ्चालक हुने गरेको बताउँछन् । उनले परिवारका सदस्यहरूलाई जागिर लगाइदिने बहानामा संस्थामा परिवारका सदस्य हुने हुँदा संस्थाको अवस्था बिग्रँदै गएको बताए । बैंकिङ्ग बुझेको सञ्चालकको नेतृत्वले बैंकको समग्र विकासमा सहयोग पुग्छ ।
प्रतिक्रिया