सरकारले निर्माण व्यवसायीको भुक्तानी नदिएसम्म निर्माण उद्योग चलायमान हुन सक्दैन: अध्यक्ष सिंह

सरकारले निर्माण व्यवसायीको भुक्तानी नदिएसम्म निर्माण उद्योग चलायमान हुन सक्दैन: अध्यक्ष सिंह


काठमाडाैं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरू समस्यामा रहेको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधारण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन । उनले नेपालको निर्माण उद्योग यति बेला कोमा रहेको बताए । उनले सरकारले निर्माण भएका आयोजनाको समेत भुक्तानी समयमा नहुँदा निर्माण उद्योग अगाडि बढ्न नसकेको गुनासो गरे । 

उनले सरकारले भुक्तानी दिन सकेको भए दसैँपछि पूर्वाधार निर्माण चलायमान हुनु पर्ने भए पनि अहिले निर्माण उद्योग शिथिल अवस्थामा पुगेको उल्ले गरे । अध्यक्ष सिंहले सरकार निर्माण व्यवसायीहरूको माग प्रति गम्भीर नहुँदा निर्माण क्षेत्र चलायमान बनाउन नसकिएको बताए । उनले भने,‘ निर्माण क्षेत्रका मूल समस्या भनेको सरकारले अघि सारेका आयोजनाहरू निर्माणमा स्रोत सुनिश्चितता गर्नुपर्छ । सरकारले त्यसको लागि काम गर्नु जरुरी छ । सरकारले निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी पाउन सकिएको छैन ।’

उनले पूर्वाधार निर्माण क्षेत्रमा काम गर्ने सरकारी निकायहरूमा समन्वय गर्न नसक्दा निर्माण उद्योग धराशायी भएको बताए । उनले अहिले निर्माण उद्योग ध्वस्त भएको बताए । उनले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि सरकारले निर्माण उद्योगलाई दिनु पर्ने भुक्तानी तत्काल दिन आवश्यक रहेको बताए ।

उनले सरकारले निर्माण उद्योगीहरूलाई तत्काल भुक्तानी गर्न नसके निर्माण उद्योग चलायमान हुन नसक्ने बताए । उनले सरकारले स्रोत सुनिश्चित नभएका आयोजनाहरू सबै खारेज गर्न आवश्यक बताए ।  सरकारले अघि सार्ने परियोजनाहरू स्रोत सुनिश्चित भएकालाई मात्रै प्राथमिकता दिएर काम गर्नु आवश्यक रहेको बताए । उनले सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनका कारण म्याद थप भएका ४ हजार बढी आयोजनाहरू प्रभावित भएको बताउन भयो ।