विनय खड्का, प्रमुख कार्यकारी अधिकृत, खल्ती डिजिटल वालेट
जीवनमा उच्च सफलता हाँसिल गर्दै नेतृत्वदायी भुमिकामा पुग्नको लागि उमेरले छेक्दैन । उमेर जतिसुकै होस, काम पाको हुनुपर्छ हामी अवश्य सफल भईन्छ । उच्च तहमा पुग्न सकिन्छ । यस्तै उदारणीय काम गरी आफुलाई चार्टड एकाउन्टेन्टको रुपमा परिचित गराउन मन पराउने विनय खड्काको उमेर धेरै भएको छैन । २७ वर्षकै उमेरमा ‘फिनटेक हब’ को रुपमा स्थापित भइरहेको खल्ती डिजिटल वालेट कम्पनीको प्रमुख कार्यकारी पद सम्हालेका उनले छोटो समयमै उच्च सफलता हासिँल गर्न सफल भए । खल्तीको प्रमुख कार्यकारीको जिम्मेवारी निभाइरहेका खड्कासँग उनले भोगेका समस्या र चुनौती, विशेषगरी नेतृत्वदायी भुमिकाको अनुभव, खल्तीको आगामी बाटो र डिजिटल भुक्तानी प्रणालीसँग केन्द्रीत रहेर बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः
पुरा भिडियो हेर्नुहोस्
सानै उमेरमा सिईओ बन्नु भएको छ । प्रमुख कार्यकारीको जिम्मेवारीमा हुँदाका तपाईका अनुभवहरु के-के हुन ?
पद एक ठाउँमा छ । यसलाई दिमागमा राख्ने अर्को कुरा हो । मैले पहिलेदेखि नै प्रमुख कार्यकारीको जिम्मेवारीमा हुन्छु भनेकै कारणले हालसम्म उत्सुक्ता नै छ । मैले काम गरेको क्षेत्र पनि उदयमान विश्वभरी नै उदयमान मानिन्छ । विश्वका अन्य विकसित मुलुकहरुमा जस्तो डिजिटाइजेसन नेपालमा अझै पुगिसकेको छैन । यस क्षेत्रमा अझै धेरै चुनौतीहरु छन । त्यसैले अब नेपालमा अब डिजिटल कारोबारलाई उच्च स्थानमा पुर्याउने जिम्मेवारी पनि हामीमाझ छ । अर्काे भनेको खल्तीमा को–फाउन्डर, डाइरेक्टर लगायत जति पनि पदाधिकारीहरु हुनुहुन्छ, उहाँहरुको पूर्ण सहयोग मिलेको छ । त्यसले गर्दा यो काम निकै चासो र रमाईलो नै रहेको छ ।
बैंकको राम्रै जागिर छाडेर खल्ती डिजिटल वालेटमा पुग्नुभयो । खास के कुराले तपाइलाई त्यहाँ पुग्न प्रेरित गर्यो ?
चार्टर एकाउन्टेन्टको शिक्षा सकिसकेपछि मेरो जिवनमा दुइवटा अप्सन थियो । कि जागिर खाने कि ब्यापार गर्ने । त्यसपछि मैले जागिर खाने निधो गरे । नेपालमा बैंकको जागिर आकर्षक मानिन्छ । त्यसमाथि डिजिटल क्षेत्र पनि यतीबेलाको उदयमान क्षेत्र हो । त्यसैले आर्थिक र डिजिटल कारोबारको क्षेत्रमा एक प्रकारको छाप पारीसकेको खल्ती डिजिटल वालेटको नेतृत्वदायी भुमीका पाउँदा मेरो लागि राम्रो हुनसक्छ भन्ने मलाई लाग्यो । यही अवसरलाई मैले प्रयोग गर्न लागेको मात्र हो ।
खल्तीको सिइओ हुनुभएको ६ महिना वितिसकेको छ । यो अन्तरालमा तपाईले भोग्नुभएका मुख्य कुराहरु के–के हुन ?
खल्तीमा सबै स्टाफको लागि हरेक दिन नयाँ च्यालेजहरु आउँछन । यसमा हामीले बजारलाई नयाँ–नयाँ तरिकाले नियाल्ने गरेका छौँ । २५० जना खल्तीका कर्मचारीहरुलाई नेतृत्व गर्नु आफैमा चुनौती हो । यो मेरो लागि विल्कुलै नयाँ अनुभव थियो । बैंकको लागि मोवाइल बैंकिङ्ग, डिजिटल बैंकिङ्ग भनेको अर्टरनेट च्यानल हो । तर, फिनटेकको लागि ग्रेट एण्ड मोडल नै हो । त्यसले गर्दा यो टप लाईन व्यवस्थापन गर्नुपर्ने पनि आफ्नो ठाँउमा छ ।
त्यो पनि एक प्रकारको नयाँ अनुभव नै हो । नेपालमा अहिले थुप्रै पिएसओ (पेमेन्ट सर्भिस अपरेटर) हरु छन । बैंकहरुका आफ्नै डिजिटल भुक्तानीका माध्यमहरु पनि छन । साथै हामीले क्यूआर कोडका सुविधाहरु पनि बजारमा ल्याएका छौँ । त्यसैले डिजिटल भुक्तानी प्रणालीमा नयाँ नयाँ व्यवस्थाहरु थपिँदै गइरहेका छन । त्यसैले चुनौतीको पक्षबाट नजरअन्दाज गर्ने हो भने खल्ती वालेट जस्ता कम्पनीहरु सञ्चालन गर्नका लागि ठुलो रकम खर्चिनुपर्ने देखिन्छ । हामीले खल्तीलाई मोनिटाईज गर्न मात्रै खोजेका छैनौ ग्राहकलाई कसरी डिजिटल भुक्तानीप्रती सचेतना गराउँने, कसरी सक्रिय गराउँने, डिजिटल कारोबारलाई कसरी प्रयोग गराउँने भन्नेतर्फ पनि हामी केन्द्रीत छौँ ।
वर्तमान अवस्थामा तपाईहरुजस्ता साना–फिनटेक कम्पनीले कस्तो खालको कामदार खोजिरहेको छ ?
फिनटेक कम्पनीहरुको आफ्नै बिशेषताहरु छन । यो आफैमा ठुलो टेक्नोलोजी हो । खल्तीकै कुरा गर्ने हो भने हामी भुक्तानीको क्षेत्रमा काम गरीरहेका छौँ । विस्तारै आफ्नो डोमेन एक्सप्लान गर्न खोजिरहेका छौँ । आज राष्ट्र बैंकले डिजिटल भुक्तानीको रुपमा काम गर भन्यो होला । भोली कन्जुमर्र फाईनान्सिङ्गको कुराहरु आउलान । यस्तो फिनटेक कम्पनीहरुमा चाहिने भनेको टेक्नोलोजी हो र त्यसै अनुसारका अनुभवी कामदारहरु । फाईनान्सियल सर्भिसलाई कसरी हात–हातमा डेलिभरी गर्ने भन्ने कुरा हामीजस्ता फिनटेक कम्पनीहरुको हुन्छ । त्यसैले हाम्रो मुख्य काम नै डिजिटलमा केन्द्रीत हुन्छ । सफ्टवेयर ईन्जिनियरहरु र इन्फमेसन टेक्नोलोजी जस्ता विषयहरु अध्यान गरिरहनुभएका विद्यार्थीहरुका लागि खल्ती जस्तो फिनटेक कम्पनी जागिरको लागि हब बन्नसक्छ । हुनुहुन्छ उहाँको लागि खल्ती जस्तो फिनटेक कम्पनी एउटा केन्द्र बन्न सक्छ । अर्को महत्वपूर्ण विषय भनेको बजार व्यवस्थापनको हो । त्यसको लागि बिजनेस टिम चाहिन्छ । खल्तीमा सुरुवाती अवस्थादेखि नै जोडिनु भएका साथीहरु हामीसँग हुनुहुन्छ । खल्तीमै ईन्टरसिप गरेर डिपार्टमेन्ट प्रमुखसम्म हुनुभएका साथीहरु पनि हामीसँग हुनुहुन्छ । खल्तीलाई चाहिने स्रोत भनेको मान्छे ओपन हुनुपर्याे । अरु भनेको सिक्दै आफुलाई विकास गर्दै जाने हो ।
त्यसो भए खल्तीलाई कहाँ पुर्याउने रणनीतिमा हुनुहुन्छ ?
नेपालमा ‘डिजिटल इकोसिस्टम’ मा एक प्रकारको जागरुकता आइसकेको छ । भनेको मानिसले विस्तारै भएपनि फेसबुक लगायतका सामाजिक सञ्जाल खोल्न थालिसकेका छन । विदेशमा भएका परिवारसँग भाइवर कल पनि गर्न जानीसकेका छन । म्यासेन्जर, टिकटक ट्वीटर प्रयोगकर्ताहरु पनि विस्तारै बढ्दै गइरहेको हामीले देखिरहेका छौँ । यस्तै कुराहरुलाई कसरी ब्यापारसँग जोड्ने भन्ने अहिलेको मुख्य विषय हो । जसरी फेसबुक लग ईन गर्न सजिलो छ त्यसरी नै बैकिङ्ग गर्न पनि सजिलो छ । म्यासेज पठाउन जतिक्कै पैसा पठाउनलाई पनि सरल र सवल छ । यी कुरालाई मानिसहरुको जीवनमा कसरी लागु गराउने भन्ने हाम्रो मुख्य उदेश्य हो । गोजीमा पैसा राखेर आर्थिक चलायमान हुँदैन । त्यसलाई बैंकमा राख्यो भने केही नभएपनि ब्याज त आउँछ । त्यसैले हामीले मानिसको सिरानीमुनीको पैसालाई उपलब्धीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउने रणनितिमा हिँडेका छौँ ।
डिजिटल कारोबारमा सुरक्षाका थुप्रै चुनौतीहरु छन नी ?
कुनै काम गर्दा चुनौतीहरु आइहाल्छन । डिजिटल कारोबारमा पनि साना–साना व्यवहारिक समस्याहरु छन । यसको न्युनीकरणको लागि खल्ती डिजिटल वालेटले धेरै लगानी गरिरहेको छ । मानिसहरुमा ज्ञान प्रदान गर्नमा पनि खल्ती अग्रणी स्थानमै पर्दछ । हरेक बिशेषता ल्याउँनु अघि रेगुलर सेक्युरिटी अडिट, आईएसओ एप्लिकेशन लगायतका कुराहरुमा पनि हामीले ध्यान दिएका छौँ । कतिपय कुराको लागि, प्रयोगकर्ता आँफै पनि सचेत हुनुपर्छ । अहिले मैले देखिरहेको हुन्छु ओटिपी शेयर गर्ने, पासवर्ड सेयर गर्ने अझ नभएर मोवाइल नै अरुलाई दिने लगायतका कुराहरु बजारमा छ्याप्छयाप्ती भेटिन्छन । त्यसरी ढुकुटीको चाबी नै अरुलाई दिएपछि सुरक्षाका चुनौतीहरु आइहाल्छन नी ! त्यसैले प्रयोगकर्ताको वित्तिय चेतनाको लागि लगानी गर्ने कि भन्नेतर्फ पनि हामीले ध्यान दिएका छौँ ।
भारतीय र नेपालका फिनटेक कम्पनीहरुबीच के फरक छ ?
नेपाल र भारतको फिनटेक कम्पनी बीचको पहिलो भिन्नता भनेको आर्थिक पाटो हो । भारतको आर्थतन्त्रको स्केल निकै नै ठुलो छ । नेपाल भन्दा सय गुणा बढि छ भन्दा पनि फरक नपर्ला । अर्काे भनेको निर्देशनको टृष्टिकोण बाट पनि भारतीय कम्पनीहरु अलि अगाडी बढिसकका छन । डिजिटल भुक्तानी प्रणालीमा भारतको नियमन अलिक फरक र खुल्ला छ जस्तो मलाई लाग्छ । नेपालमा पिएसपी र पीएसओ कम्पनीहरुको लागि निर्देशनहरु आउने क्रम जारी छ । यस्ता निर्देशनहरु राष्ट्र बैंकबाट आउँछन । तर विदेशमा फिनटेक कम्पनीहरुलाई ‘नन बैंकिङ्ग कम्पनीको रुपमा हेरिन्छ ।भारतमा बैंकिङ्ग अथवा आर्थिक अवस्था हाम्रो भन्दा अलिक बढि भईसकेको अवस्था छ । भारतीय बजारबाट हामीले थुप्रै कुराहरु सिकिरहेका पनि छौँ । सोही अनुरुप शिक्षा पनि दिईरहेका छौँ, लगानी पनि गरिरहेका छौ । राष्ट्र बैंकले पनि यी बिषयमा कदम चालिरहेको छ । हामी पनि सोही बाटोमा अगाडी बढिरहेका छौँ ।
फिनटेक कम्पनीको आम्दानीको मुख्य स्रोत के–हो ? खल्तीले आजको दिनसम्मा कति आम्दानी गर्यो ?
नेपालमा वालेट लाई नै फिनटेक कम्पनी भनिन्छ । यस्ता कम्पनीहरुको नेपालमा ठुलो स्कोप छ । त्यसैले हामी जस्तो पिएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर) हरुको आम्दानीको मुख्य स्रोत भनेको प्रयोगकर्तालाई सेवा उपलब्ध गराउने र त्यसवापत शुल्क लिने हो । त्यही पैसा फेरि हामीले क्यास ब्याक अथवा इन्सेन्टीभको रुपमा अहिले हामीले ग्राहकहरुलाई उपलब्ध गराइरहेका छौँ । यसकारण अहिले नै ठ्याक्कै खल्तीले कति पैसा आम्दानी गर्यो भन्दापनि कति लगानी गरिरहेको छ भन्दा उचित होला । त्यही भएर यसमा नेट कमाई अथवा अहिले पैसा कति कमायो भन्ने यस्तो छैन । यो खल्तीको व्यापार विस्तारको समय हो । अब मर्जर तथा एक्युजिसनको बेला आउला, जागरुपता गराउँने स्टेज होला, अथवा त्यसलाई मनिटाईज गर्ने बेला आउला । यी सबै खाले समय आउन बाँकी नै छ । त्यसैले नेपालमा हालसम्म फिनटेक कम्पनीहरु मनिटाईज गर्ने स्टेजमा पुगिसकेका छैनन जस्तो लाग्छ मलाई ।
वित्तिय साक्षरताको बिकासका लागि तपाईहरुले के–के कामहरु गरिरहनुभएको छ ?
नेपालमा कतिपय क्षमतावान मान्छेहरुमा पनि बित्तिय जानकारी छैन । कति बचत गर्ने, कति खर्च गर्ने लगायतका विषयको जानकारी सबै मानिसहरुमा पुगेको अवस्था छैन । हामी यसको उत्थान र प्रोत्सानको लागि विभिन्न कार्यक्रमहरुमा भाग लिइरहेका छौँ । अझ डिजिटल ज्ञान प्रदानमा खल्तीले जती विषयहरु उठान गर्ने कम्पनीहरु कमै होलान । यो म गर्वका साथ भन्न सक्छु । हामीले स्मार्ट छोरी भन्ने क्याम्पेन पनि सुरु गर्यौ । त्यो भनेको नेपालमा छोरी मान्छेहरुलाई वित्तिय क्षेत्रमा कसरी स्वतन्त्र बनाउँने भन्ने कार्यक्रम थियो । सामाजिक सञ्जालमार्फत भिडियोहरु बनाएर हामीले डिजिटल्ली ज्ञान बाँडिरहेका छौँ ।
हामीले हालसम्म ५ सय भन्दा बढि भिडियोहरु प्रसारण गरेका छौँ । अझ भन्नुपर्दा हामीले कन्टेष्ट प्रोडक्ट देखि लिएर सबै कुरामा मानिसहरुलाई वित्तिय ज्ञान प्रदान गर्दै आइरहेका छौँ । सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरु पुगिसकेको अवस्था छ । तर बैंक पुग्नै नसकेको ठाउँमा पनि हामी पुगेका छौँ । आजको दिनमा खल्तीको ५० हजार भन्दा बढी एजेन्टहरुले डिजिटल सर्भिस लिनुभएको छ । जसले सिधै खल्ती डाउनलोड गरेर काम गर्न सक्नुभएको छैन उहाँहरुले ५० हजार भन्दा बढि एजेन्टले डिजिटल सर्भिस दिइरहनुभएको छ । त्यस क्षेत्रहरुमा भने हामी अगाडी छौँ । साथै वित्तिय ज्ञान पनि बाँडिरहेका छौँ ।
अन्तमाः खल्तीका आम प्रयोगकर्तालाई के सन्देश दिनुहुन्छ ?
तपाईहरुको जीवनलाई सहज बनाउँने, तपाइह वित्तिय क्षेत्रमा तपाइहरुलाई कसरी आबद्ध गराउने भन्ने भिजन लिएर हामी अगाडी बढिरहेका छौँ । खल्ती भनेको तपाईहरुको पर्स जस्तै हो । तर यसको सेवा डिजिटलबाट हुन्छ । त्यसैले नेपाललाई डिजिटल क्षेत्रमा बिकास गर्नलाई, तपाइहरुको सहजता बढाउनको लागि खल्तीलाई एकपटक विश्वास गर्नुस, प्रयोग गर्नुस र हेर्नुस् भन्न चाहन्छु ।
प्रतिक्रिया