नेपाल धितोपत्र बोर्डले गैह्रआवासीय नेपालीलाई नेपालको पूँजीबजारमा ल्याउने लक्ष्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशका संशोधन गरेको थियो । यससँगै नेपाली पूँजीबजारमा गैह्रआवासीय नेपालीको प्रत्यक्ष संलग्नता हुनेछ । यस्तै, पूँजीबजारको विकास र विस्तारका क्रममा डिम्याट खाता सङ्ख्या ६५ लाख र मेरो शेयर खाता सङ्ख्या ५५ लाख हाराहारी पुगेको छ । जबकि, निष्क्रिय खाता सङ्ख्या २० लाखभन्दा बढी छ । यसैगरी इन्ट्राडे कारोबारको विषय पनि जोडतोडले उठ्दै छ । यिनै विषयमा केन्द्रित रहेर सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका डेपुटी म्यानेजर सुरेश न्यौपानेसँग इन्भेष्टमेन्ट टकमा गरेको कुराकानीको सम्पादित अंश :–
धितोपत्र बोर्डले गैह्रआवासीय नेपालीहरूलाई नेपाली शेयर बजारमा बाटो खोल्ने गरी निर्देशिका संशोधन गरेको छ । यसको तत्कालीन र दीर्घकालीन प्रभाव कस्तो पर्न सक्छ ?
नेपालको पूँजीबजारमा गैह्रआवासीय नेपालीलाई भित्र्याउने भन्ने योजनाको पहिलो पाइला चालिएको छ । यसले पूँजीबजारलाई राम्रो टेवा पुग्छ भन्ने लाग्छ । विश्वभर छरिएर रहनुभएका नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउने गरी सुरुवात भएको छ । उहाँहरू सबै जना नेपालको पूँजीबजारमा छिर्नुभयो भने नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ ।
आजको दिनमा ६५ लाख डिम्याट र ५५ लाख मेरो शेयर प्रयोगकर्ता छन् । यीमध्ये ३४ लाख हाराहारी मात्रै सक्रिय छन्। अब एकै पटक ५० लाख प्रयोगकर्ता थपिए भने सीडीएससीको पूर्वाधारले धान्छ ?
गैह्रआवासीय नेपालीहरू एकै दिन ५०/६० लाख भित्रिने भन्ने हुँदैन । उहाँहरू प्रक्रियागत रूपमा बिस्तारै भित्रने हो । सीडीएससीले ‘स्केलेबल’ रूपमा पूर्वाधार बनाउँदै गइरहेका छौँ । यही कारण भावी दिनमा लोड बढ्दै जाँदा पनि हामीलाई समस्या हुँदैन । पूर्वाधारको आधार लगानीकर्ताको ठुलो चापलाई पनि धान्न तयार छ । एकै पटक धेरै लगानीकर्ता पूँजीबजारमा जोडिएर सक्रिय बने भने पनि हाम्रो प्रणालीमा समस्या आउँदैन । किनकि, प्राथमिक शेयरमा ३ लाख हाराहारीको आवेदनबाट २७ लाखसम्मको आवेदन हामीले धानेका छौँ । यससँगै हामीले पूर्वाधारलाई पनि बलियो बनाएका छौँ ।
गैह्रआवासीय नेपालीलाई नेपालको पूँजीबजारमा जोड्दा समग्र अर्थतन्त्रमा प्रभाव त पर्छ नै । यसको प्रभाव चाहिँ कस्तो रहन्छ ?
धितोपत्र बोर्डले संशोधन गरेको निर्देशिका विश्वभर छरिएका गैह्रआवासीय नेपालीलाई जोड्नका लागि लिइएको पहिलो खुड्किला मात्रै हो । यस लगत्तै थप प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । बोर्डले गरेको संशोधनअनुसार गैह्रआवासीय नेपालीहरू ‘लगानी कम्पनी’ मार्फत नेपालको पूँजीबजारमा जोडिने ठाउँ बनाइएको हो । यहीकारण, आर्थिक विकासमा ठुलो टेवा पुग्छ । किनकि, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गैह्रआवासीय नेपालीहरूले नेपालमा लगानी गर्छन् ।
हुन त त्यति सहज छैन । त्यही पनि व्यक्तिगतरुपमा नै गैह्रआवासीय नेपाली नेपालको पूँजीबजारमा थपिए भने सीडीएससी कुन हदसम्म तयार छ ?
सीडीएससीले प्राथमिक बजारमा दिइरहेको मेरो शेयर सेवा हो । दोस्रो बजारमा हुने ‘ट्रेडिङ’ छुट्टै सेसन हो । यसपछि सेटलमेन्टको काम आउने हो । सुरुमा प्राथमिक निष्कासन गर्दा आवेदन गर्ने हो र दोस्रो बजारमा कारोबारका लागि गैह्रआवासीय नेपालीलाई मात्रै छुट्टै व्यवस्था गर्ने भन्ने छ । यहीकारण, सीडीएससीलाई पूर्वाधार निर्माण र तयारका लागि समस्या छैन ।
अहिलेसम्मको अवधिमा सीडीएससीको पूर्वाधारमा ‘रियल टाइम’मा कति जना प्रयोगकर्ताले प्रयोग गर्न सक्ने अधिकतम क्षमता छ ?
यतिबेला लगभग ३५ लाख प्रयोगकर्ताले सीडीएससी प्रयोग गर्दा पनि समस्या हुँदैन । यो आधारमा हामीले पूर्वाधार निर्माण गरेका छौँ । सीडीएससीको रेडर्कमा एक सेकेन्डमा ६० हजार प्रयोगकर्तासम्म आएका थिए । यो हदसम्मको प्रयोगकर्ता हामीले धान्ने अवस्था छ ।
अब अलिकति फरक विषयमा मोडियौँ । केही समयअघि हामीले रोजगारीका लागि विदेश जानेहरूलाई पनि आईपीओ आवेदनको व्यवस्था मिलायौँ । यो एक हिसाबले विदेशमा रहेका नेपालीहरूलाई नेपालको पूँजीबजारमा ल्याउने प्रयास पनि थियो । विदेश बसेर मेरो शेयर चलाउने प्रयोगकर्ता कति छन् ?
वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्टै कोटा छ । उनीहरूलाई कम्पनीले निष्कासन गर्ने कूल आईपीओको १० प्रतिशत कोटा छ । यसआधारमा ६५ हजारदेखि ७० हजार वैदेशिक रोजगारीमा गएका नेपालीहरू यसमा आबद्ध हुनुहुन्छ । विदेशमा श्रम स्वीकृति लिएर यो सुविधा लिनेहरूको संख्या ७० हजार हाराहारी देखिन्छ । यसबाहेक अध्ययनका लागि विदेश गएर उतैबाट आवेदन दिनेहरूको संख्या बढी हुन सक्छ । यसको एकीन तथ्यांक छैन ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूमध्ये सबैभन्दा धेरै मेरो शेयरका प्रयोगकर्ता कुन देशका छन् भन्ने तथ्यांक हेनुपर्यो भने कुन देशका देखिन्छन् ?
दक्षिण कोरिया र कतारमा पुगेका नेपालीहरूले बढी प्रयोग गरेको देखिन्छ । यसमा चेतनाको विषय पनि आउँछ । कोरिया जानेहरू परीक्षा उर्तीण गरेर जान्छन् । यही कारण, पूँजीबजारबारे उनीहरूलाई जानकारी बढी हुन सक्छ । अन्यत्र जानेहरूको दक्षताअनुसार पूँजीबजार टाढाको हुन सक्छ । यसबाहेक धेरै नेपाली भएको कतारबाट थोरै मात्रै पूँजीबजारमा आबद्ध हुँदा पनि धेरै भएको हुन सक्छ ।
५५ लाख मेरो शेयर खातामध्ये ३४ लाख सक्रिय छन् । बाँकी २० लाखभन्दा बढी कता छन् ? यसको जवाफ सीडीएससीसँग छ ?
७२ सालदेखि शेयर बजारमा छिर्नलाई डिम्याट खाता अनिवार्य गरिएको थियो । कुनै कालखण्डमा भौतिक रुपमा रहेको शेयरलाई शेयरमा ल्याउनका लागि मेरो शेयर खाता खोल्नेहरूको संख्या ठुलो छ । शेयर बेचेर काम सकेपछि चलाउन बिर्सिएको र बन्द नगरेका कारणले यो संख्यामा ठुलो संख्यामा निष्क्रिय छन् । यस्तै, ६४ लाख डिम्याटमध्ये ५ लाख ‘डुप्लिकेसन’ रहेको हाम्रो अनुमान पनि छ । पछिल्लो समय डीपीको संख्या पनि बढेको छ । ६४ लाख खातामा ५ लाख वटा डुप्लिकेसन प्रतिशतका आधारमा ठुलो नभएको हाम्रो निष्कर्ष छ ।
लगानीकर्ताले दुई वटा डिम्याट खाता खोल्न खुकुलो नीति लिनुपर्छ । हामीले विभिन्न सार्वजनिक स्थानमा यो विषय बोल्दै पनि आइरहेको हो । डिम्याट खाताको निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ र निष्क्रिय खाताको ‘ड्यू’ रकम बढ्दै छ । डिम्याट खातामा बोनश पनि आइरहेको हुन सक्छ र त्यो उहाँहरूले बिर्सिनु भएको हुनसक्छ । डीपीको समेत ड्यू बढ्दै छ । यस कारण, निष्क्रिय खाताको संख्या घटाउँदै लैजानुपर्छ ।
भौतिक रुपमा शेयर आवेदन गर्ने अवस्थाबाट हामी डिजिटलमा आइपुगेका छौँ । अब ‘टी प्लस टु’ छाडेर ‘इन्ट्राडे’ कारोबारको माग आइरहेको छ । यसका लागि सीडीएससी कतिकाे तयार छ ?
इन्ट्राडेका लागि सीडीएससीभन्दा पहिला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तयार हुनुपर्छ । हामीले गर्नुपर्ने काम भनेको ‘फाइनल फण्ड’ सेटलमेन्टको काम हो । शुल्क र कमिसनको विषय हाम्रोतर्फ आउँछ । यही कारण नेप्से तयार छ भने हामी तयार छौँ । केही पूर्वाधार तयार गर्नुपर्ने स्थिति रहेछ भने पनि नेप्से तयार रहँदासम्म हामी तयार हुन्छौँ ।
प्रतिक्रिया