विवादित बन्यो एनपीएल : सुदूरपश्चिमको जर्सीमा ‘बाबु ८८ स्पोर्टस’, बेटिङ कम्पनी प्रवर्द्धन गरेको आरोप

विवादित बन्यो एनपीएल : सुदूरपश्चिमको जर्सीमा ‘बाबु ८८ स्पोर्टस’, बेटिङ कम्पनी प्रवर्द्धन गरेको आरोप


काठमाडौं – नेपाली खेलजगतमा चर्चाको शीखरमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) विवादमा फसेको छ । नेपालमा अवैध सट्टे बाज कम्पनीले एनपीएल टोलीलाई प्रायोजन गरेपछि समग्र लिग नै विवादित बनेको हो ।

यति बेला लिगका ८ टोलीमध्ये सुदूरपश्चिम रोयल्सको स्पोन्सरको विषयलाई लिएर विवाद बढ्दै गइरहेको छ । रोयल्सको जर्सीमा नामांकित ‘बाबु ८८ स्पोर्टस’को स्पोन्सरसिपलाई लिएर तीव्र विवाद सृजना भएको हो ।

यो कम्पनीले अनलाइन बेटिङ गराउने बताइन्छ । नेपालमा अनलाइन बेटिङ अर्थात सट्टेबाजी प्रतिबन्धित छ । यसका साथै त्रिभुवन क्रिकेट मैदानबाट नेपाल प्रहरीले ८ जना भारतीयलाई सट्टेबाजी चलाएको आरोपमा पक्राउ गरेर छानबिन गर्दै आइरहेको छ ।

एनपीएल टिमको जर्सीमा नै बेटिङ कम्पनीको स्पोन्सरको आरोप लागिरहेको समयमा प्रहरीले भारतीयलाई पक्राउ गरेपछि यसमा थप मलजल पुगेको छ । यससँगै, लिगको आयोजक नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रहरी र विज्ञापन बोर्डले यसबारे जवाफ नै मागेका छन् ।

बोर्ड र प्रहरीको जवाफमा एनपीएलमा आबद्ध टिमले नेपालमा अनलाइन बेटिङलाई प्रवर्द्धन गर्ने गरी कुनै पनि सम्झौता नगरेको जवाफ दिएको बताइएको छ । यसअघि पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्ता प्रायोजन भने हुँदै आएको थियो ।