काठमाडाैं – ठमेललाई विदेशी पर्यटकको जमघट हुने महत्त्वपूर्ण गन्तव्यका रूपमा चिनिन्छ । नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ। यसपटक पनि त्यस्तै देखियो ।
तर, यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् । ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् । अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन ।
ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताउँछन् । ‘पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्’, नौ वर्षदेखि व्यवसाय गर्दै आएका उनले भने, ‘यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।’
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए । ‘यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो’, उनले भने, ‘यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्यो ।’
होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो । यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनको भनाइ छ । यतिखेर मुख्य पर्यटकीय सिजन सकिने सङ्घारमा छ । ठमेलको पर्यटकीय चहल–पहल पनि विस्तारै पातलिँदै गएको छ । विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।
प्रतिक्रिया