काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकको कारोबार रोक्का गरेको छ । बैंक समस्यामा परेपछि केन्द्रीय बैंकले एक सूचना जारी गर्दै निक्षेप संकलन र कर्जा प्रवाह रोक लगाएको हो ।
समस्यामा परेपछि नेपालगञ्ज बाँकेमा रहेको कर्णाली विकास बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । यो भनेको बैंकको थप कारोबार रोक्का गरेको हो ।
२०८१ साउन ६ गतेदेखि ११ गतेसम्म बैंकबाट सम्पन्न निरिक्षणको प्रतिवेदन अनुसार कर्जा नोक्सानी व्यवस्थापमा सुपरिवेक्षकीय समायोजन गर्दा बैंकले तोके बमोजिम न्यूनतम पूँजीकोष अनुपात कायम नहुने देखिएको छ ।
यस्तै निस्किृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको छ । यहीकारण, निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने लक्ष्यसहित कर्जा प्रवाह र निक्षेप संकलनमा रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनिमय ३ बमोजिम ६ महिना भित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकमा सुधार गर्ने शर्तमा यो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया